२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

गाउँपालिका कार्यालयमा तालाबन्दीपछि सुर्नयामा औषधि अभाव

shivam cement
२०८२ कार्तिक २८ गते ११:५०
Shares
गाउँपालिका कार्यालयमा तालाबन्दीपछि सुर्नयामा औषधि अभाव

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । तालाबन्दीपछि आवश्यक काम अगाडि नबढ्दा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा औषधि अभाव भएको जनाइएको छ । 

स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको सुर्नया–३ स्थित बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले जानकारी दिए । औषधि अभावमा सामान्य चोटपटक लागेकालाई उपचार गर्न पनि समस्या भएको उनले बताए । 

सोही स्वास्थ्य चौकीका ‘ल्याब असिस्टेन्ट’ नरेन्द्रसिंह विष्टले सामान्य सामाग्री पनि उपलब्ध नहुँदा सुत्केरी सेवासमेत प्रभावित हुने अवस्था आएको बताए। 

गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह महराले पनि गाउँपालिकाअन्तर्गतका स्वास्थ्य चौकीबाट औषधिलगायत स्वास्थ्य उपकरण अभावबारे गुनासो आइरहेको बताए । गाउँपालिकाले स्वास्थ्य उपकरणसहित औषधि आपूर्तिका लागि बोलपत्र आह्वान गरिए पनि तालाबन्दीका कारण सम्झौता नहुँदा औषधि खरिद प्रक्रिया अघि बढाउन नसकिएको उनले जानकारी दिए। 

यहाँ आफूहरूले मागेको सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते ‘जेनजी’ पुस्ताका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । सहमतिका लागि छलफल भए पनि कुनै सहमति हुन नसक्दा स्वास्थ्यलगायत अत्यावश्यक सेवा प्रभावित भइरहेका छन् । 

ADV

सम्बन्धित खबर