
रौतहट : जिल्ला सशस्त्र प्रहरी बल हेडक्वार्टर ११ नं. गण रौतहटले आयोजना गरेको ‘सीमावासीसँग अन्तरक्रिया’ कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेपाल-भारत सीमासँग जोडिएका जटिल चुनौतीहरूको समाधान र स्थानीय सरकार तथा सुरक्षा निकायबीच सहकार्य मजबुत बनाउने उद्देश्यले आयोजित यो कार्यक्रमले सीमावर्ती क्षेत्रका वास्तविक समस्यालाई प्रत्यक्ष रूपमा उठान गरेको छ ।
कार्यक्रममा सीमासँग जोडिएका गौर, परोहा, राजदेवी, बौधीमाई र ईशनाथ नगरपालिकाका प्रमुखहरू, सीमा सहजीकरण समितिका पदाधिकारी, सुरक्षाकर्मी र स्थानीय अगुवाहरूको उल्लेख्य उपस्थिति थियो । सहभागीहरूले सीमा अतिक्रमण र अवैध संरचना, चारपाङ्ग्रे सवारीको आवागमनमा अस्पष्ट नीति, लागूऔषध ओसारपसार तथा सेवन, गौर डुबानको दीर्घकालीन समाधानलगायतका समस्या राखे ।
कार्यक्रमका प्रमुख अतिथि तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोक कुमार बमले सीमा समस्याको गम्भीरताबारे व्याख्या गर्दै तत्कालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गरे ।
उनले भने, “रामपुर खाप लगायत बन्द छोटी भन्सारहरूलाई तत्काल सुचारु गर्न अर्थ मन्त्रालयमा पत्राचार गरिनेछ । गौर डुबान समाधानका लागि भारतसँग द्विपक्षीय सहकार्य गरिनेछ । लागूऔषध नियन्त्रणमा केही दिनभित्रै विशेष छलफल र जनचेतना कार्यक्रम सञ्चालन हुनेछ ।”
उनले सीमा नाकामा कडा निगरानी र गैरकानुनी गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको चेतावनी पनि दिए ।
रौतहट सशस्त्र प्रहरी ११ नं. गणका गणपति एसपी दिपेन्द्र कुँवरले रामपुर खाप छोटी भन्सार सुचारु गर्ने मागप्रति गम्भीर रहेको र भइरहेको आन्दोलनलाई ध्यानमा राखेर काम अघि बढाइने बताए ।
अन्तरक्रिया कार्यक्रममा गौर नगरपालिकाका प्रमुख शम्भु साह, परोहा नगरपालिकाका प्रमुख शेख वकील, राजदेवी नगरपालिकाका प्रमुख भिखारी राय यादव, बौधीमाई नगरपालिकाका प्रमुख प्रदीप यादव, ईशनाथ नगरपालिकाका प्रमुख कौशल्या देवी, सबै बीओपी प्रमुखहरू, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष र स्थानीय सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।