२०८२ मंसिर २ गते मङ्गलवार / Nov 18 , 2025 , Tuesday
२०८२ मंसिर २ गते मङ्गलवार
Ads

रुकुम पश्चिममा एक्लिँदै जनार्दन

shivam cement
प्रचण्ड खत्री
२०८२ मंसिर २ गते १४:२५
Shares
रुकुम पश्चिममा एक्लिँदै जनार्दन

रुकुम पश्चिम : रुकुम पश्चिममा शीर्ष नेताहरूबीचको मतभेदले माओवादी राजनीतिमा ठूलो तरंग ल्याएको छ । नेकपा माओवादी केन्द्रका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ फरक राजनीतिक बाटोमा उभिएसँगै जिल्लामा त्यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ ।

प्रचण्ड नेतृत्वमा सुरु गरिएको ‘बृहत् वाम ध्रुवीकरण’ र नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रियाले यहाँको माओवादी पंक्ति दोहोरो धारमा विभाजित भएको स्थानीय नेताहरू बताउँछन् । पछिल्लो समय प्रभाकर पक्षले अघि सारेको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा भने न्यून संख्यामा मात्र नेता–कार्यकर्ता आकर्षित भएका छन् ।

साबिक माओवादी केन्द्रका मुसिकोट नगर समितिमा करिब दुईतिहाई पदाधिकारी र सदस्य प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीतर्फ खुलेको नगर अध्यक्ष धनबहादुर खड्का र सचिव अनिल बुढाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । आइतबार मात्र भएको पार्टी बैठकमा ४० जना पदाधिकारी तथा सदस्य सहभागी भएको र सोही बैठकमार्फत केही पदस्थापनमा फेरबदलसमेत गरिएको उनीहरूले बताए ।

नगर अध्यक्ष दलबहादुर खड्का जनार्दन शर्माको पक्षमा लागेपछि सो जिम्मेवारी सम्हालेका अध्यक्ष खड्का ‘बसन्त’ ले कात्तिक २५ देखि ३० गतेसम्म जिल्लाभर सम्पन्न विस्तारित बैठक र अन्तरक्रिया कार्यक्रममा नेता–कार्यकर्ताको उत्साहपूर्ण सहभागिता देखिएको उल्लेख गरे ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा सम्पूर्ण पार्टी कमिटी नेपाली कम्युनिष्ट पार्टीमा समायोजित भएको नेता सचिन रोकाले बताए ।

आठबिसकोट नगरपालिकामा भने पूर्व माओवादी नगर अध्यक्ष मनिराज बटाला प्रगतिशील अभियानमा खुलेपछि खम्बे कुसारीलाई अध्यक्ष तोकिएको छ । नगरभित्र भने बहुमत कार्यकर्ता प्रचण्ड पक्षमै रहेको बताइएको छ ।

त्यसैगरी चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिका पूर्ण रूपमा नेपाली कम्युनिष्ट पार्टीमा समायोजित भएको नेतृ विमला केसीले जानकारी दिएकी छन् ।

जिल्लाभर देखिएको यो पुनः ध्रुवीकरणले रुकुम पश्चिममा माओवादी शक्ति सन्तुलन नयाँ मोडमा प्रवेश गरेको स्थानीय राजनीतिशास्त्रीहरूको टिप्पणी छ ।

ADV

सम्बन्धित खबर