२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

एकीकृत समाजवादीको बैठक बिहीबार बस्दै, पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुंगो लगाइने

ADV
लेखनाथ सिकारु
२०८१ साउन ९ गते २२:३१
एकीकृत समाजवादीको बैठक बिहीबार बस्दै, पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुंगो लगाइने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक साउन १० गते बिहीबार बिहान ११ बजे पार्टी मुख्यालय आलोकनगरमा बस्ने भएको हो । बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुनेछ । 

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसलाई मुख्य आधार बनाएर नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने महासचिव घनश्याम भुसालले बताए । पार्टीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छन् । 

असार १६ देखि २० को महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको हो । केन्द्रीय कमिटी २ सय ९९ र २१ पदाधिकारी चयन गर्नुपर्नेमा ३ पदाधिकारी ९३ केन्द्रीय सदस्यको मात्र टुंगो लागेको छ । 

पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपमहासचिव, सचिवका साथै केन्द्रीय सदस्यमा पदभन्दा बढी नेता आकांक्षी भएपछि सहमति जुट्न  नसकेको हो । केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने निर्णय भएको छ ।

‘पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी बढी भएकाले मिलाउन बाँकी छ,’ नेता जगन्नाथ खतिवडाले भने, ‘अब नयाँ केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने छ ।’ वरिष्ठ उपाध्यक्ष, उमहासचिव र सचिव सहित १९ पदाधिकारी र २ सय ६ केन्द्रीय सदस्य चयन गर्नुपर्ने उनले बताए । 

बाँकी सदस्य आगामी १० दिनभित्र पूर्णता दिने बताए पनि अधिवेशन सकिएको लामो समय वितिसक्दा पनि सदस्यहरुको नाम घोषणा गर्न सकेको छैन ।

समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ ।

एकीकृत समाजवादीमा ३३ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित भएको छ । पार्टीले समावेशिताको अनुपात र संख्या निर्धारण गरी भूगोल, खुला र समावेशी क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गरेको छ । 

समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित २०, आदिवासी जनजाति ४०, मधेसी २०, थारू ९, मुस्लिम ६, अल्पसंख्यक ३ र अपाङ्गता भएका व्यक्ति २ प्रतिशत हुनेगरी प्रतिनिधित्वको सुनिश्चितता गरेको नेता सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

समावेशीकरणको सिद्धान्तअनुसार समावेशी महिला र समावेशी खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ । युवा, प्रौढ र वृद्धको सहभागितालाई सुनिश्चितता गरेको पार्टीले हरेक तहको कमिटीमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी र बढीमा दुई कार्यकाल मात्र कार्यकारी प्रमुख रहने व्यवस्था छ ।

अब केन्द्रीय सदस्य हुन व्यक्ति कुनै समुदाय, लिंग वा उमेर समूहको भएर मात्र पुग्दैन । विगतमा जिम्मेवारी सम्पादनको अवस्था, पार्टी नीतिको व्याख्या, विश्लेषण गर्ने क्षमता, जनताबीचको लोकप्रियतालाई आधार बनाइएको छ । यो व्यवस्था  विधानको अपरिवर्तनीय धाराका रूपमा राखिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise