
रुकुम पश्चिम : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिमका मतदानस्थलहरुलाई सुरक्षा संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको छ । जिल्लाका ७६ वटा मतदानस्थललाई तीन भागमा विभाजन गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीका अनुसार निर्वाचनका लागि सुरक्षाको दृष्टिकोणले मतदानस्थलहरुलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य स्थलको रुपमा विभाजन गरिएको छ । यसअनुसार २१ वटा मतदानस्थल अतिसंवेदनशील, ४३ वटा संवेदनशील र १२ वटा सामान्य रहेका छन् ।
प्रजिअ थानीका अनुसार जिल्लामा सडक पहुँच, दुर्गम क्षेत्र, सञ्चार सम्पर्क, सुरक्षा दृष्टिकोण, विगतको चुनावी गतिविधि, राजनैतिक गतिविधिहरुको प्रतिस्पर्धा तथा पूर्वाधारको अवस्था लगायतको आधारमा मतदानस्थलको संवेदनशीलता निर्धारण गरिएको हो ।
अतिसंवेदनशील मानिएका २१ वटा मतदानस्थल सडकको सहज पहुँच नभएको, दुर्गम, सुरक्षा बेञ्चबाट टाढा, विगतको चुनावी गतिविधि लगायतका कारणले यस्तो वर्गीकरण गरिएको छ । रुकुम पश्चिमका छ स्थानीय तहमा ७६ मतदानस्थल कायम छन् । आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी संवेदनशील मतदानस्थल रहेको छ । यहाँका १६ वटा मतदानस्थलमध्ये ११ वटा अतिसंवेदनशील रहेका छन् ।
चौरजहारी नगरपालिकामा १४ वटा, मुसीकोट नगरपालिकामा १५ वटा, सानीभेरी गाउँपालिकामा ११ वटा, बाँफिकोट गाउँपालिकामा १० वटा र त्रिवेणी गाउँपालिकामा १० वटा मतदानस्थल कायम गरिएको प्रशासनले जनाएको छ ।