
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजले चौथो जित हासिल गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले प्रतियोगितामा चौथो जित निकालेको हो । यस जितसँगै काठमाडौं प्लेअफ नजिक पुगेको छ भने कर्णालीको प्लेअफ यात्रा कठिन भएको छ ।
६ खेल खेलेको काठमाडौं ४ खेलमा जित निकालेर ८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । अब काठमाडौंले एक खेलमात्र खेल्न बाँकी छ । पोखरासँगको अन्तिम खेलमा विजयी भए काठमाडौंको प्लेअफ यात्रा पक्का हुनेछ भने हारेको खण्डमा पनि अन्य टिमको नतिजाका आधारमा प्लेअफ यात्रा तय हुनेछ ।
यता ५ खेल खेलको कर्णाली १ खेलमा जित र ४ खेलमा हार व्यहोरेर २ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ । कर्णालीले अब दुई खेल खेल्न बाँकी छ । यदि दुवै खेलमा विजयी भए पनि कर्णालीलाई प्लेअफमा पुग्न अन्य टिमको नतिजामा भरपर्नु पर्छ ।
आइतबार कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । काठमाडौंका लागि जेराड इरासमसले अविजित सर्वाधिक ४३ रन बनाए । ३३ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । यस्तै जोन सिमसनले २१ बलमा ४ चौका र २ छक्को सहयोगमा ४१ रन बनाए । बेन चाल्र्सवर्थले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३४ रनको योगदान गरे भने मिलिन्द कुमारले १५ तथा आकाश त्रिपाठीले ८ रन बनाए । कर्णालीका लागि नन्दन यादवले तीन विकेट लिए भने पवन सर्राफले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । कार्णालीका लागि गुल्सन झाले सर्वाधिक ४९ रन जोडे । २२ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका गुल्सन अर्धशतक बनाउनबाट एक रनले चुके । पवन सर्राफले २९ बलमा २ चौका र २ छक्को सहयोगमा ३५ रन बनाए । मार्क वाटले २७ बलमा १ चौका र २ छक्काको सहयोगमा ३० रनको योगदान गरे । नाजिबुल्लह जाद्रान १४ बलमा १२ रन बनाए भने दीपक डुम्रेले १० रन बनाए । कर्णालीका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
काठमाडौंका लागि रशिद खानले दुई विकेट लिए भने करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक–एक विकेट लिए ।
एनपिएलअन्तर्गत सोमबार कुनै पनि खेल हुने छैन भने मंगलबार दुई खेल हुने छन् । मंगलबार बिहान पौने १२ बजे हुने खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने अपराह्न ४ बजे हुने खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।