२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राजदूतबीचको भेटवार्ता भोलि 

shivam cement
२०८२ मंसिर १५ गते १८:४५
Shares
रूसी राष्ट्रपति पुटिन र अमेरिकी राजदूतबीचको भेटवार्ता भोलि 

मस्को : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग मंगलबार दिउँसो क्रेमलिनमा भेटवार्ता गर्ने भएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँगको नियमित ब्रिफिङमा विटकफसँगको बैठक भोलि हुने जानकारी दिए । 

यसअघि अमेरिकी तथा युक्रेनी अधिकारीहरूबीच भएको प्राथमिक छलफलपछि वासिङ्टनले प्रस्ताव गरेको सम्भावित शान्ति ढाँचाबारे दुवै पक्षको संवाद अघि बढिरहेको छ । संयुक्त राज्य अमेरिकाले मस्को–किएभ युद्ध अन्त्य गर्न एक प्रकारको ‘आधारभूत रूपरेखा’ प्रस्तुत गर्न चाहेको बताउँदै आएको छ ।

राष्ट्रपति पुटिनले गत हप्ता आफ्नो कडा मागहरू दोहोर्‍याउँदै किएभलाई मस्कोले दाबी गरेका क्षेत्रमा आत्मसमर्पण गर्नैपर्ने अन्यथा रूसी सेनाले ‘आवश्यक परे बलपूर्वक नियन्त्रण लिने’ चेतावनी दिएका थिए । 

राजदूत विटकफले पुटिनलाई यसअघि पनि क्रेमलिनमा धेरै पटक भेटेका छन् । तर उनले मस्कोसँगको संवादमा अपनाएको शैलीबारे अमेरिकाभित्र नै आलोचना भएको छ । प्रारम्भिक अमेरिकी योजना क्रेमलिनको मागतर्फ बढी झुकाव भएको जस्तो देखिएको भन्दै कतिपय अधिकारीहरू र विश्लेषकहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

यता युरोपेली संघ (इयु)ले आगामी हप्ता ‘युक्रेनका लागि अत्यन्त महत्त्वपूर्ण’ हुने चेतावनी दिँदै कूटनीतिक गतिविधि बढाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार पेरिसमा रहेर किएभका लागि युरोपेली समर्थन विस्तार गर्न सक्रिय थिए । 

अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न सम्भावित सम्झौताको सम्भावनाबारे आशावादी मनोवृत्ति प्रकट गरेका छन् ।

पुटिन–विटकफ भेटले शान्ति प्रक्रियामा नयाँ मोड आउने कि नआउने भन्ने विषयले अहिले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ । –रासस/एएफपी

ताजा खबर

सम्बन्धित खबर