
रौतहट : रौतहटमा विश्व एड्स दिवसको १५औं संस्करण जनचेतनामूलक कार्यक्रमसहित मनाइएको छ ।
एचआइभी तथा एड्स सम्बन्धी जनचेतना फैलाउने र संक्रमितहरूप्रति ऐक्यबद्धता जनाउने उद्देश्यका साथ स्वास्थ्य कार्यालय रौतहट र प्लस नेपाल रौतहटको संयुक्त आयोजनामा सोमबार बिहान विशाल र्याली निकालिएको थियो ।
सोमबार बिहान ९ बजे स्वास्थ्य कार्यालय रौतहटबाट सुरु भएको र्यालीको नेतृत्व प्लस नेपाल रौतहटका अध्यक्ष जय प्रकाश भारतीले गरेका थिए । र्यालीमा दर्जनौं स्थानीय बासिन्दा, नेपाल प्रहरीका जवानहरू र स्वास्थ्य कार्यालयका कर्मचारीहरूले सहभागिता जनाएका थिए । सहभागीहरूले एचआइभी/एड्स सम्बन्धी सन्देशमूलक प्लेकार्ड र ब्यानर बोकेका थिए ।
र्याली नगर परिक्रमा गर्दै स्वास्थ्य कार्यालयमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालयका प्रमुख राजेश कुमार सिंहले समापन अवसरमा एचआइभी/एड्स नियन्त्रणमा समाजका सबै वर्गको सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका थिए । उनले भने,‘विश्व एड्स दिवस केवल औपचारिक दिन मात्र होइन, यो हामी सबैले एचआइभी संक्रमणको जोखिम, रोकथामका उपाय र संक्रमितहरूप्रति गरिने भेदभाव र लाञ्छनालाई शून्यमा झार्ने प्रण गर्ने दिन हो। सुरक्षित यौन व्यवहार र सचेतता नै यस महामारीलाई जित्ने मुख्य हतियार हो ।’
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले एचआइभी संक्रमितलाई सामाजिक अपहेलना नगरी समान व्यवहार गर्नुपर्ने, निःशुल्क परीक्षण र उपचार सेवामा पहुँच बढाउनुपर्ने तथा समुदायस्तरबाटै सचेतना अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।