२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

‘अभिमन्यु : च्याप्टर-१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

shivam cement
२०८२ मंसिर १६ गते १२:५७
Shares
‘अभिमन्यु : च्याप्टर-१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं : ललितपुरको लविम मलस्थित क्यूएफएक्समा सोमबार साँझ सम्पन्न प्रिमियर शोबाट नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले सुरुवातमै बलियो प्रभाव छाडेको छ । प्रिमियरमा चलचित्र हेरेका दर्शक तथा चलचित्रकर्मीहरू सिनेमाको प्रशंसा गरेर थाकेनन् ।

प्रिमियरमा उपस्थित कलाकार तथा समीक्षकले फिल्मको कथ्य शैली, प्रस्तुति, पात्रहरूका अभिनय र सस्पेन्सले भरिएको ड्रामालाई उच्च प्रशंसा गरे । धेरैले फिल्मले सिर्जना गर्ने कौतुहलताले दर्शकलाई सुरुदेखि अन्त्यसम्म खिचेर राख्ने विश्वास व्यक्त गरे । विशेषगरी महिला पात्रलाई केन्द्रमा राखेर बनाइएको कथाले नेपाली फिल्मको प्रचलित ढर्रा तोडेको टिप्पणी धेरैको मुखबाट सुनियो ।

अभिनेता दिव्यदेव पन्त फिल्मबाट सबैभन्दा प्रभावित देखिए । प्रिमियरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्देशनदेखि कलाकारको पर्फर्मेन्ससम्म सबै पक्ष ‘असाधारण’ रहेको बताए । उनका अनुसार फिल्मले महिला पात्रलाई अघिल्ला नेपाली सिनेमामा देखिँदो शैलीभन्दा बिल्कुलै फरक गम्भीरता र शक्ति दिएको छ । उनले निर्माता विनोद पौडेलले ‘प्रतिभा भएर पनि उपेक्षित’ कलाकारमा गरेको लगानीको खुलेर प्रशंसा गर्दै बजारको स्टार नभइ राम्रो कलाकार र बलियो कथा रोज्ने साहसले नै फिल्मलाई प्रभावशाली बनाएको बताए ।

‘अभिमन्यु’ किन हेर्ने ? भन्ने प्रश्नमा दिव्यदेवको जवाफ थियो, ‘दर्शकले ढुक्क भएर हल जान सक्ने फिल्म यही हो । प्रिमियरमा कलाकारले सधैं तारिफ गर्छन् भन्ने लाग्न सक्छ, तर मैले मनैदेखि भनेको हुँ- यो कथा तपाईंलाई बाँधेर राख्छ ।’

चलचित्रकर्मी सोभित बस्नेतले पनि वर्तमान नेपाली सिनेमामा आएको ‘सकारात्मक परिवर्तन’ को चर्चा गर्दै अब दर्शक ‘स्टार’ होइन ‘कलाकार र अभिनय’ हेर्ने अवस्थामा पुगेको विश्लेषण गरे । उनका अनुसार ‘अभिमन्यु’ ले दर्शकलाई प्रत्येक मिनेट- अब के हुन्छ ? भन्ने कौतुहलता सिर्जना गर्न सफल हुन्छ । उनले मुख्य अभिनेता कामेश्वर चौरसियाको पर्फर्मेन्स फिल्मको बलियो कारण बनेको बताए ।

मोडल तथा अभिनेत्री अलिशा बास्तोलाले ‘ब्लकबस्टर हुने अनुभूति प्रिमियरमै आएको’ बताइन् । उनका अनुसार दक्षिण भारतीय शैलीका सस्पेन्स ड्रामाले पुरै फिल्मभर दर्शकलाई जकडेर राख्छ । उनले फिल्मको सबै पक्ष ‘अथेन्टिक’ रहेको उल्लेख गर्दै आफ्नो होम–ब्यानर बनेको सेभेन सिज सिनेमालाई शुभकामना दिइन् ।

अर्की अभिनेत्री रुषा न्यौपानेले फिल्मलाई ‘नेपालमा चलिरहेको मुख्यधारको ट्रेन्डभन्दा धेरै भिन्न’ भन्दै दर्शकले पछुताउन नपर्ने दाबी गरिन् । “फ्यामिली ड्रामा र सेन्टिमेन्टल कथाले बजार ओगटिरहेको बेला यस्तो महिला केन्द्रित सस्पेन्स फिल्म आउनु निर्माताकै हौसला हो,” उनले भनिन् । अभिनेत्री लक्ष्मी बर्देवाको अभिनयप्रति विशेष प्रशंसा गर्दै उनले आफैंले यस्तो भूमिकामा काम गर्ने इच्छा लागेको समेत खुलाइन् ।

कमेडीयन भरतमणि पौडेलबाट पनि फिल्मले दाइजो प्रथाजस्तो गम्भीर सामाजिक सन्देश उठाएको र सस्पेन्सले भरिएको अभिव्यक्ति आयो ।

प्रिमियरपछि अभिनेताहरू भावनात्मक पनि बने । मुख्य अभिनेता कामेश्वर चौरसिया लामो संघर्षपछि ‘लिड क्यारेक्टर’ पाएको खुसी लुकाउन सकेनन् । “कलाकार बन्न स्क्रिप्ट चाहिँदो रहेछ,” उनले भने- “यसअघि गरेको कामले प्रशंसा त पाइयो, तर यहाँसम्म आउन बलियो कथाले नै बाटो खोलिदियो ।”

अभिनेता किरण श्रेष्ठले अनुभवी कलाकारहरूसँग स्क्रिन–स्पेस बाँड्न पाएको अनुभव ‘सोचेभन्दा राम्रो’ भएको बताए । आफूले गरेको मेहनत पर्दामा देखिएकोमा उनी सन्तुष्ट देखिए ।

अभिनेत्री लक्ष्मी बर्देवा फिल्मको छायांकन–अवधिमा आफू सुत्केरी हुने अवस्थामा रहेको खुलासा गर्दै पनि उत्कृष्ट कथावस्तु र टोलीप्रतिको विश्वासका कारण फिल्ममा काम गरेको बताइन् । “पर्दामा देख्दा स्क्रिप्ट पढ्दाभन्दा अझ राम्रो बनेको पाएँ,” उनले भनिन् ।

अर्की अभिनेत्री सरिता गिरीले पुरुषप्रधान कथाले भरिएका नेपाली चलचित्रहरूको बिचमा ‘अभिमन्यु’ जस्तो महिला–केन्द्रित कथा निर्माण हुनु सुखद भएको प्रतिक्रिया दिइन् ।

सुशान्त गौतम निर्देशित यस फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन् भने कथा मुकेश खनालले लेखेका हुन् । निर्माता विनोद पौडेल र गुञ्जन गिरीको प्रस्तुतिमा बनेको चलचित्रमा कार्यकारी निर्माताका रूपमा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।

शरद महतोको सिनेमाटोग्राफी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ र मदन घिमिरेको सम्पादन फिल्मका अन्य मुख्य प्राविधिक आकर्षण बनेका छन् । लाइन प्रोड्युसर जीवन शाक्य हुन् ।

कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा रहेको ‘अभिमन्यु : च्याप्टर–१’ यही बिहीबारदेखि नेपालभर र अन्तर्राष्ट्रिय बजारमा नेपाली–हिन्दी दुवै संस्करणमा प्रदर्शन हुँदैछ ।

सम्बन्धित खबर