
काठमाडौं : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोन वार्तामा पूर्ण कानूनी उन्मुक्ति पाए मात्र सत्ता त्याग्न तयार भएको बताएका छन् । रोयटर्सका अनुसार उनले प्रतिबन्ध हटाउन, आईसीसीको मुद्दा बन्द गर्न र आफ्ना अधिकारीहरूमाथिका प्रतिबन्ध खारेज गर्न माग गरेका थिए ।
ट्रम्पले भने सबै सर्त स्पष्ट रूपमा अस्वीकार गर्दै मादुरोलाई परिवारसहित देश छोड्न एक हप्ता समय दिएका थिए, जुन अब सकिएको छ । त्यसपछि अमेरिकाले भेनेजुएलाको हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेको छ र क्यारिबियन तथा प्रशान्तमा सैन्य गतिविधि बढाएको छ । लागूपदार्थ तस्करीका डुंगामाथिका अमेरिकी मिसाइल आक्रमणमा कम्तीमा ८३ जनाको मृत्यु भइसकेको बताइन्छ ।
मादुरो क्षेत्रीय रूपमा पनि कमजोर हुँदै गइरहेका छन् । होन्डुरसमा उनका निकटस्थ मानिने उम्मेदवार पछि परेका छन् र सेन्ट भिन्सेन्ट तथा ग्रेनाडाइन्समा उनका दीर्घकालीन सहयोगी प्रधानमन्त्री राल्फ गोन्साल्भेस पराजित भएका छन् । नयाँ नेतृत्वले भेनेजुएलासँगको सम्बन्ध पुनः मूल्यांकन गर्ने संकेत दिएको छ ।