
चिडियाखानाको देव्रेपट्टिको अन्तिम भागमा ठुलाठुला पर्खालबीच छ बाघ राखिएको ब्लक । त्यसको अगाडि भागबाट बाघहरू प्रस्टै देखिए पनि देखिँदैनन्, कृष्ण महर्जन । उनी ब्लकको पछाडिको भागमा बाघको आहारा तयार गरिरहेको अवस्थामा भेटिन्छन् । हरेक दिन बाघको आहारा बन्दोबस्त गर्ने, आहारा दिने ठाउँको सफाइ गर्दैमा उनको दिन बित्छ । बिहान १० बजेदेखि झमक्कै साँझ पर्दासम्म उनी बाघ ब्लककै वरपर हुन्छन् ।
काठमाडौं सानागाउँ निवासी महर्जन ५५ वर्षका भए । उनी साधारण लेखपढ गर्न सक्छन्, त्यसैले चिडियाखाना आउनुअघि उनी इँटाभट्टामा ज्याला मजदुरीको काम गर्थे । त्यसबाट आफ्नो दैनिकी सहज नभएपछि उनले त्यो काम छाडे । घर चल्ने ‘जे काम पाए पनि गर्छु’ भनेर इँटाभट्टाबाट निस्केका उनले चिडियाखानामा काम पाए । त्यो पनि, बाघ हेर्ने ।
चिडियाखाना छिर्दासम्म पनि उनले बाघको ‘गोठालो’ बन्ने अनुमान गरेका थिएनन् । सुरुका दुई वर्षजति चिडियाखानाकै नर्सरीमा काम गरे । त्यसपछि उनलाई बाघ हेर्ने जिम्मेवारी आइलाग्यो । सुरुमा त उनी झसंग पनि भए । तर डरसँगैको उत्सुकताले महर्जनलाई बाघको सेवक बनायो । ‘नर्सरीमा काम गरिरहेको मान्छे, एक्कासि बाघ हेर्न जाऊभन्दा डर त लागेको थियो । तर बाघको स्याहारसुसारको उत्सुकताले नाइँ भन्न सकिनँ,’ ३० वर्षअघिको अनुभव सुनाउँदै महर्जन भन्छन्, ‘अहिले त बाघको पियोर गोठालो भइसकें ।’
झट्ट हेर्दा सबै बाघ उस्तै लाग्छन् । तर महर्जन नाक, मुख, आँखा देखेरै पनि चिन्छन् । बाघसँग त्यस्तो गहिरो सम्बन्ध जोडिएको छ उनको । १६ वर्षदेखि निरन्तर बाघको स्याहारसुसार गर्दै आएका छन् । बीचमा केही समय चराको ब्लकमा गए । १० वर्षजति उनले त्यहाँ काम गरेर पुनः बाघ ब्लकमै फर्किए । उनी बाघलाई दैनिक ५ देखि ६ किलोसम्म मासु खुवाउँछन् । दिनको २ देखि ३ बजेको बीचमा बाघलाई नियमित आहारा दिइने गरेको छ ।
आममानिसलाई बाघको हेरचाह गर्नु गाह्रो र डरलाग्दो कामजस्तो लाग्छ । तर महर्जनका लागि घरपालुवा गाई, भैंसी पालेजस्तै हो बाघ स्याहार्नु । भन्छन्, ‘के डर लाग्नु गाई, भैंसीको गोठालोजस्तै हो, बाघको गोठालो पनि । अब त रमाइलो पनि लाग्छ, माया पनि लाग्छ । आफूलाई स्याहार्नेलाई पनि बाघले केही गर्दैन ।’ कसले माया देखाउँछ र कसले आफूलाई हानि पुर्याउँछ भन्ने बाघले पनि बुझ्न सक्ने उनी बताउँछन् । त्यसैले पनि महर्जनलाई बाघको स्याहार अब जागिरभन्दा ज्यादा आदत र नियमित रुटिन भइसकेको छ ।