
सप्तरी : बोदेबरसाइन नगरपालिका–५ स्थित मदरसा जामेतुल इस्लामियामा जमिअत उलमाए नेपालको चौथो अधिवेशन सम्पन्न भएको छ । मौलाना मुफ्ती खालिद सिद्दीकीको अध्यक्षतामा भएको उद्घाटनमा प्रमुख अतिथि राजबाबु र नगरप्रमुख आतिशकुमार चौधरीलगायतको उपस्थिति थियो ।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा वडाध्यक्ष महबुब मिया तथा देशभरका पदाधिकारी, प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो । अधिवेशनमा आगामी योजना, संगठन सुदृढीकरण, सामाजिक तथा धार्मिक मुद्दामा विस्तृत छलफल गरिएको आयोजकले बताएको छ ।
कार्यक्रमको सम्बोधनका क्रममा राजबाबुले एकताबाट संगठनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र उत्पीडित समुदायको चेतना अभिवृद्धिमा योगदान पु¥याउने उल्लेख गरे । उपाध्यक्ष मौलाना असगर अली मदनीले संगठन मजबुत बनाउने आवश्यकता औंल्याए ।
वक्ता मौलाना कारी हनिफ नदवीले मदरसा संघको गतिविधि अघि बढिरहेको जानकारी दिँदै सामाजिक सञ्जालमा मुस्लिम समुदायमाथि फैलाइने गलत प्रचारप्रति सतर्क रहन आग्रह गरे । अन्य वक्ताहरूले दाइजो प्रथा, शिक्षा, युवाहरूमा बढ्दो विद्युतीय दुरुपयोग तथा महिला हिंसाजस्ता विषयमा संयुक्त अभियान चलाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष सिद्दीकीले २०६४ मा स्थापना भएको संस्थाले १७ वर्ष पूरा गरेको उल्लेख गर्दै संविधान तथा कानुनको दायराभित्र रहेर सबै समुदायका लागि काम गर्ने प्रतिबद्धता दोहो¥याए । मुस्लिम समुदायलाई रोहिंग्या वा बंगलादेशी भन्दै भ्रम फैलाउने प्रयासप्रति उनले चेतावनी पनि दिए ।
बन्द सत्रले पुरानो समिति विघटन गरी सर्वसम्मत रूपमा मौलाना मोहम्मद खालिद सिद्दीकीलाई अध्यक्ष र अब्दुल जब्बारलाई कोषाध्यक्ष चयन गरेको छ । नयाँ अध्यक्षको नेतृत्वमा केन्द्रीय सदस्यहरू मनोनयन गर्ने सहमति भएको छ । अधिवेशनमा देशका विभिन्न जिल्लाबाट करिब २ सय प्रतिनिधि सहभागी थिए ।