२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

रुकुम कांग्रेसमा युवा नेतृत्वको बलियो दाबी, सभापतिमा चर्को प्रतिस्पर्धा

shivam cement
प्रचण्ड खत्री
२०८२ मंसिर २४ गते २०:५४
Shares
रुकुम कांग्रेसमा युवा नेतृत्वको बलियो दाबी, सभापतिमा चर्को प्रतिस्पर्धा

रुकुम पश्चिम : नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशन तोकेपछि देशभर आन्तरिक चुनावको माहोल तात्न थालेको छ । यससँगै आगामी पुस २१ गते तोकिएको नेपाली कांग्रेस रुकुम पश्चिम जिल्ला अधिवेशनको चर्चा पनि सुरु भएको छ ।

जिल्ला अधिवेशनमा सभापतिका लागि एक दर्जन बढी नेताहरुले आकांक्षा राखेका छन् । तर दोस्रो पुस्ताका युवा नेताहरुको बलियो दावी देखिन्छ । जेनजी आन्दोलनपछि देशका मुख्य दलहरुको नेतृत्वमा युवा आउनुपर्ने आवाज बढेको छ । यसअनुसार रुकुम कांग्रेसको सभापतिमा पनि महेन्द्र केसी, खडक डाँगी, शिव आचार्य र यज्ञ विष्ट लगायतका युवा नेताहरुको दावी बलियो रहेको छ ।

मुसिकोट नगरपालिका मेयर महेन्द्र केसीले पार्टीलाई चलायमान बनाउन सशक्त उम्मेदवारी दिने बताएका छन् ।

अर्का आकांक्षी शिव आचार्यले जेनजी आन्दोलनको सन्देशनै पुराना दलभित्र युवा र पार्टीलाई रुपान्तरण गर्न सक्ने नेता खोजेको कारण आफु सर्वसम्मत नभए पनि चुनावमा प्रतिस्पर्धा गर्ने बताए । खडक डाँगीले अघिल्लो पटक अन्य नेताहरुलाई सहयोग गरेको अनुभवले यसपटक सहज रूपमा सभापति बन्न सहयोग हुने बताए । यज्ञ विष्टले पनि पार्टीमा सक्रिय रहँदै युवा नेतृत्वको मागअनुसार आफ्नो दावी राखेका छन् । 

दोस्रो पुस्तासँगै हालको जिल्ला समितिका पदाधिकारी तथा पूर्वपदाधिकारीहरु पनि सभापतिका लागि दावी राख्दै छलफल गरिरहेका छन् । पूर्वसभापति प्रेमप्रकाश ओली दुई पटक सभापति भएर अब चुनाव लड्न नपाउने भएपनि अन्य अधिकांश पदाधिकारीहरु सभापतिकै लाइनमा रहेका छन् । हालका उपसभापति सुरतजंग मल्ल र हर्कसिं खत्री, तिलक भण्डारी, धिरेन्द्र बटाला, जेके बाँठा, परमेश्वर भण्डारी र लोकेन्द्र केसी लगायतका नेताहरुले पनि आ–आफ्नो तहमा सभापतिको लागि छलफल गरिरहेका छन् । रुकुम पश्चिमको कांग्रेसमा युवा पंक्तिको सक्रियता र दोस्रो पुस्ताका नेताहरुको बलियो दावीले आगामी जिल्ला अधिवेशनमा प्रतिस्पर्धा चर्काउने देखिन्छ ।

सम्बन्धित खबर