२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण शुक्रबार वीरेन्द्रनगरमा हुने

shivam cement
पूर्ण सार्की
२०८२ मंसिर २५ गते १३:१७
Shares
रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण शुक्रबार वीरेन्द्रनगरमा हुने

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम भोलि शक्रबार सुर्खेतमा हुने भएको छ ।

कर्णालीमा पार्टी संगठनलाई प्रदेश, जिल्लादेखि पालिकास्तरसम्म विस्तार गरी संगठन बलियो बनाउने उद्देश्यका साथ शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश समितिले जानकारी दिएको छ । 

पार्टीको केन्द्रीय प्रशिक्षण विभागका अनुसार सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम भएको र बाँकी रहेको कर्णालीमा भोलि सञ्चालन गर्ने योजना रहेको छ ।

भोलि हुने प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय समितिका कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मानिस झा, केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गणेश पराजुली, केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदी, केन्द्रीय सदस्य तथा नीवर्तमान प्रतिनिधि सभा समानुपातिक संसद बिनिता कठायतलगायतका नेताहरुको उपस्थिति रहने छ । 

अन्य सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम गरेको रास्वपाले भोलि कर्णालीको सुर्खेतमा प्रदेश र केन्द्रका नेता तथा कार्यकर्तालाई भेला गर्न वीरेन्द्रनगरमा उपयुक्त स्थान भएकाले यहाँ प्रशिक्षण आयोजना गर्न लागिएको प्रदेश सभापति मदन खड्काले जानकारी दिए ।

खड्काले पार्टी स्थापना भएको केही वर्षमै  सदस्य सङ्ख्या बढ्दै गएपछि पार्टीका आधिकारिक दस्ताबेज, नीति र कार्यक्रम तथा केन्द्रका परिकल्पनालाई तल्ला तहसम्म पुर्‍याउने उद्देश्यले केन्द्रीय सर्कुलर अनुसार कर्णालीमा  पनि प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लगिएको बताए ।

उनले भने, 'पार्टीका तल्ला कमिटी प्रशिक्षित भएमा हाम्रा नीति, कार्यक्रम र उद्देश्य जनतासम्म सहजै पुग्छन् ।'

प्रशिक्षणमार्फत सबै पालिकामा संगठन विस्तार गर्ने, पार्टी बलियो बनाउने र कार्यक्रम जनतासम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।

प्रशिक्षणमा केन्द्रले दिनुपर्ने जानकारीबाहेक तल्ला तहबाट केन्द्रलाई अपेक्षित सुझाव संकलन गर्ने व्यवस्था समेत गरिएको छ । 

रास्वपा कर्णाली प्रदेश सभापति खड्काले प्रशिक्षणमा स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशका पदाधिकारीसहित करिब ३०० जना सहभागी हुने जानकारी दिए ।  रास्वपाले भोलि कर्णालीमा हुने प्रशिक्षण कार्यक्रमलाई आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन लक्षित रहेको समेत जानकारी दिएको छ ।

सम्बन्धित खबर