२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

साइबर अपराधबारे सचेतनामूलक प्रशिक्षण

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ मंसिर २५ गते २१:५८
Shares
साइबर अपराधबारे सचेतनामूलक प्रशिक्षण

रौतहट : राजदेवी नगरपालिकामा साइबर अपराधसम्बन्धी सचेतनामूलक प्रशिक्षण सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको सहयोगमा आयोजित उक्त कार्यक्रम राजदेवीस्थित माध्यमिक विद्यालय पथरामा सञ्चालन गरिएको हो ।

प्रशिक्षणमा नगर प्रमुख भिखारी यादव, उपप्रमुख राजकुमारी देवी, विद्यालयका शिक्षक–शिक्षिका तथा ठूलो सङ्ख्यामा विद्यार्थीहरूको उपस्थिति थियो । कार्यक्रमका प्रमुख प्रशिक्षक जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक तेजप्रताप सिंह रहेका थिए ।

सिंहले प्रशिक्षणका क्रममा पछिल्ला दिनमा बढ्दो डिजिटल जोखिम, सामाजिक सञ्जाल दुरुपयोग, व्यक्तिगत जानकारी चोरी, अनलाइन ठगी तथा ह्याकिङ जस्ता साइबर अपराधका स्वरूपबारे विस्तृत जानकारी दिए । उनले विशेषगरी अपरिचित लिंक, फाइल, एप्स, वेबसाइट र अनलाइन फारमहरूबाट सतर्क रहन सहभागीहरूलाई अनुरोध गरे ।

उनका अनुसार अपरिचित स्रोतबाट आएका लिंक वा फाइल खोल्नु, गोप्य पासवर्ड अन्य व्यक्तिलाई दिनु, वा शंकास्पद साइटमा व्यक्तिगत विवरण भर्नु अत्यन्त जोखिमपूर्ण हुन्छ । सानो गल्तीले पनि ठुलो आर्थिक र मानसिक क्षति निम्त्याउन सक्छ भन्दै उनले सबै नागरिक विशेषगरी विद्यार्थी डिजिटल साक्षर हुनुपर्ने आवश्यकता औंल्याए ।

नगर प्रमुख र उपप्रमुखले कार्यक्रममा सहभागी हुँदै साइबर सुरक्षा आजको अत्यावश्यक विषय भएको उल्लेख गर्दै विद्यालयदेखि समुदायसम्म नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापकले धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरूलाई सिकेका विषयहरू दैनिक जीवनमा प्रयोग गर्न र अन्यलाई पनि सचेत गराउन आग्रह गरे । उनका अनुसार, यस्ता प्रशिक्षणले विद्यालय स्तरबाटै साइबर सुरक्षाको बलियो आधार तयार गर्न सहयोग पुग्छ ।

प्रहरी नायब निरीक्षक सिंहका अनुसार यो कार्यक्रम साइबर अपराध नियन्त्रण र न्यूनीकरणका लागि गरिएको निरन्तर प्रयासको एक महत्वपूर्ण हिस्सा हो ।

ताजा खबर

सम्बन्धित खबर