
रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार ट्रक र कार एकआपसमा ठोक्किँदा वृद्धको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नंको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने वर्ष ७९ का भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिए । कार बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै थियो ।
दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ बस्ने डोरमणि सापकोटा घाइते भएका छन् । उनीहरुको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिए
प्रहरीले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन र थप कानुनी प्रक्रिया अगाडि बढाउन तितुङमाथि गहन अनुसन्धान सुरु गरेको जनाएको छ । ओभरटेकको प्रयास नै दुर्घटनाको प्रमुख कारण हो वा होइन भन्नेबारे विस्तृत प्राविधिक अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले बताएको छ ।
प्रहरीले चालकहरूलाई सधैं ट्राफिक नियमको पूर्ण पालना गर्न र विशेष गरी ओभरटेक गर्दा अत्यन्त सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।