२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

द्रुतगतिमा परिणाम दिनेगरी काम गर्ने नवनियुक्त श्रममन्त्रीको प्रतिबद्धता

shivam cement
२०८२ मंसिर २७ गते ०६:४५
Shares
द्रुतगतिमा परिणाम दिनेगरी काम गर्ने नवनियुक्त श्रममन्त्रीको प्रतिबद्धता

काठमाडौं : गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले तीन महिनापछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री नियुक्त गरेको छ ।

प्रधानमन्त्री कार्कीले शुक्रबार चौथो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दै नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) राजेन्द्रसिंह भण्डारीलाई श्रममन्त्रीमा नियुक्त गरेकी हुन् ।

नेपाल प्रहरी सेवाबाट अवकाश भएको करिब एक दशकपछि भण्डारी पहिलोपटक मन्त्री बनेका हुन् ।

गम्भीर प्रकृतिका अपराधको विशिष्टीकृत अनुसन्धानका लागि नेपाल प्रहरीले २०६७ सालमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गठन गरेको थियो ।

फौजदारीदेखि वित्तीय अपराधसम्मका जटिल मुद्दा छुट्टै टिमले अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएपछि गठन गरिएको उक्त ब्युरोका भण्डारी नै संस्थापक प्रमुख थिए । उनले २०६७ साउन १ देखि २०६८ भदौ ८ गतेसम्म सिआइबी प्रमुखका रूपमा सेवा गरेका थिए ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् तेस्रो पटकसम्म विस्तार गर्दा पनि श्रम मन्त्रालय आफैं मातहात राखेकी थिइन् । चौथो पटकको विस्तारमा मात्र मन्त्रालयले विभागीय मन्त्री पाएको हो ।

वैदेशिक रोजगार र रेमिट्यान्स देशको अर्थतन्त्रको मेरुदण्ड मानिँदै आए पनि श्रम मन्त्रालय विगतका सरकारझैं यसपालि पनि कम प्राथमिकतामा परेको थियो । तीन महिनादेखि मन्त्रालय प्रधानमन्त्री कार्कीको प्रत्यक्ष नेतृत्वमा थियो, जसका कारण दीर्घकालदेखि थन्किएका मुद्दा अघि नबढेको भन्दै व्यवसायीहरू निराश थिए ।

अब विभागीय मन्त्री नियुक्त भएपछि वैदेशिक रोजगार क्षेत्रका सुधारात्मक कामलाई प्राथमिकता दिइने अपेक्षा व्यवसायीहरूले व्यक्त गरेका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेपछि श्रम मन्त्रालय पुगेका नवनियुक्त मन्त्री भण्डारीले छोटो कार्यकाललाई ‘द्रुतगतिमा परिणाम दिने’ समयका रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पत्रकारहरूसँग कुरा गर्ने क्रममा उनले आफू सिआइबीको संस्थापक प्रमुख रहँदै संगठित अपराधको जालो तोड्ने काममा अनुभव सँगालेको बताउँदै श्रम मन्त्रालयमार्फत पनि प्रभावकारी परिणाम दिने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘सरकारको कार्यावधि छोटो छ । तर म एक दिनलाई एक घण्टाका द्रुत गतिमा उपयोग गर्छु ।’

जेनजी आन्दोलनपछि प्रहरी र युवाबीच देखिएको दूरीबारे बोल्दै उनले दुवै पक्षमा पीडा रहेको उल्लेख गरे । ‘प्रहरी र जेनजी पुस्ताबीचको नकारात्मक खाडल हटाउनु छ । प्रहरी हरेकपटक दमनकारी हुँदैन, जेनजी पनि हरेकचोटि विध्वंसकारी हुँदैन भन्ने बोध गराउनु छ,’ भण्डारीले भने ।

दुवै पक्षले व्यहोरेका क्षति र गुनासालाई मन्त्रिपरिषद्मा उठाएर समाधानतर्फ अघि बढ्ने विश्वास समेत उनले व्यक्त गरे ।

अवकाश पश्चात लेखन, रचना तथा पठनपाठनमा सक्रिय रहेका भण्डारीले अब राष्ट्रसेवामा जुट्ने समय आएको बताए । उनले श्रम मन्त्रालयमार्फत वैदेशिक रोजगार र श्रमिक सुरक्षासम्बन्धी समस्यालाई द्रुत गतिमा समाधान गर्नु नै आफ्नो प्रमुख प्राथमिकता हुने उल्लेख गरेका छन् ।

सम्बन्धित खबर