२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठग्ने सिंह पक्राउ

shivam cement
२०८२ मंसिर २७ गते ०६:५०
Shares
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठग्ने सिंह पक्राउ

काठमाडौं : विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन् ।

सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा सञ्चालित एक होटलबाट कमदारको माग भएकाले सो होटलमा रोजगारी मिलाइदिने भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट उनीहरूलाई पक्राउ गरेको हो । उनले आफू पूर्वराजाको भान्जा भएको भन्दै सहजै युवायुवतीलाई ठगी गर्ने गरेका थिए ।

युवायुवतीलाई विश्वास दिलाउन उनले होटल र आफ्नो कम्पनीबीचको नक्कली रोजगार–सम्झौता, काठमाडौंस्थित बेलायती दूतावासको नक्कली पत्र, नक्कली प्रवेशाज्ञा (भिसा) र हवाई टिकटलगायत कागजात देखाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

उनीहरूले आकर्षक तलबको प्रलोभनमा परी युवायुवतीमाथि ठगी गर्ने गरेका थिए । पैसा बुझाएर पनि लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेका सिहंविरुद्ध यसअघि अमेरिका र बेलायत पठाइदिने भन्दै ठगी गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा चार, ललितपुरमा दुई गरी छ वटा ठगीसम्बन्धी कसुुर तथा पूर्वराजपरिवारको सदस्य भन्दै धाकधम्की दिएको भनी प्रहरी वृत्त दरबारमार्गमा एउटा मुद्दा दर्ता रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

कार्यालयले सिंहको समूहबाट ठगिएका अन्य पीडितहरूले निजविरुद्ध कानुनी कारबाहीका लागि आवश्यक कागजातसहित अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भ्रदकालीमा जाहेरी दिन अनुरोधसमेत गरेको छ ।

सम्बन्धित खबर