
रौतहट : रौतहटको सदरमुकाम गौर नगरपालिका–२ स्थित श्रीराम लखन हरि साह गुरुकुल विद्यापीठ दीर्घकालीन शैक्षिक योजना अन्तर्गत सधैंका लागि सञ्चालनमा आएको छ । गौर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा गुरुकुलका आचार्य सञ्जीव झाले उक्त विद्यापीठ सधैंका लागि सञ्चालनमा ल्याइएको बताएका छन् ।
उनले गुरुकुल केवल ६ महिनाका लागि सञ्चालन हुने भनि फैलिएको अपुष्ट सूचना र भ्रामक हल्लामा विश्वास नगर्न विद्यार्थी, अभिभावक तथा सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् । आचार्य झाका अनुसार गुरुकुल विद्यापीठ संस्कृत शिक्षा तथा वैदिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने पवित्र उद्देश्यका साथ स्थापित भएको हो ।
दीर्घकालीन शैक्षिक योजनाअन्तर्गत नियमित रूपमा सञ्चालन हुनेछ । यहाँ विद्यार्थीहरूलाई शास्त्रीय शिक्षा, वेद, वेदान्त र कर्मकाण्ड सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ, जसले उनीहरूलाई नैतिक, चरित्रवान् र समाजप्रति जिम्मेवार नागरिक बनाउन मद्दत गर्ने झाले विश्वास व्यक्त गरे ।
गौर नगरवासीका लागि लामो समयदेखि आवश्यक्ता भएको भन्दै गुरुकुल सांस्कृतिक शैक्षिक केन्द्र बन्नेमा दुईमत नरहेको बताए । उनले स्थानीयवासी, अभिभावक र सरोकारवालाहरूलाई गुरुकुलको उद्देश्यमा विश्वास र सहयोगका साथ अघि बढ्न अनुरोध गरेका छन् ।
रौतहटको शैक्षिक विकासमा नयाँ आयाम थप्ने यस गुरुकुलले परम्परागत शिक्षालाई आधुनिक आवश्यकतासँग जोड्दै अघि बढ्ने झाले प्रतिबद्धता व्यक्त गरेका छन् ।