२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

मदरसा अहमदिया सलफिया, आरा बिहारको वार्षिक उत्सव सम्पन्न

shivam cement
इसत्याक अहमद
२०८२ मंसिर २७ गते २१:५८
Shares
मदरसा अहमदिया सलफिया, आरा बिहारको वार्षिक उत्सव सम्पन्न

बिहार : भारतको बिहार राज्य अन्तर्गत आरा जिल्लामा अवस्थित ऐतिहासिक इस्लामी शैक्षिक संस्था मदरसा अहमदिया सलफियाको ३४औं वार्षिक उत्सव तथा सार्वजनिक अधिवेशन डिसेम्बर ६ र ७ मा भव्य रूपमा सम्पन्न भएको छ । 

कार्यक्रममा जामिया हफ्सा लिलबनात, धनुषाका सचिव तथा मदरसा नज्मुल–हुदा, सिरहाका अध्यक्ष, अल–अज्हर विश्वविद्यालयका स्नातक मौलाना मोहम्मद मुस्तफा काअबी अजहरी प्रमुख अतिथिका रूपमा सहभागी थिए । अधिवेशनको अध्यक्षता शैख मोहम्मद बिन अब्दुल हमीद रहमानी मदनीले गरेका थिए ।

पवित्र क़ुरआनको तिलावत, हम्द तथा नात–ए–रसूलबाट सुरु गरिएको कार्यक्रमलाई क़ुरआनी तथा हदीसी सन्देश झल्किने आकर्षक सजावटले थप प्रभावशाली बनाएको थियो । 

सन् १८८० मा भारतको पहिलो आवासीय इस्लामी शैक्षिक संस्थाका रूपमा स्थापना भएको यस मदरसाले पछि मदरसा अहमदिया सलफिया नाम पाएको हो । वार्षिक अधिवेशनकै ऐतिहासिक पृष्ठभूमिमा सन् १९०६ को डिसेम्बरमा अहले हदीस कान्फ्रेन्स गठन भई केन्द्रीय जमीयत अहले हदीस हिन्दको स्थापना भएको तथ्यलाई समेत स्मरण गरिएको थियो । 

जमीयतका प्रथम अमीर (अध्यक्ष) मौलाना हाफिज अब्दुल्लाह गाजीपुरी (१८४४–१९१८) तथा प्रथम महामन्त्री शेख अबुल–वफा सनाअल्लाह अमृतसरी (१८६८–१९४८) को उल्लेखनीय योगदानलाई श्रद्धापूर्वक स्मरण गरिएको थियो । 

शनिबार बिहान आयोजित हिफ्जुल–क़ुरआन प्रतियोगितामा शैख हाफिज अबु नासिर रजाउल हसन आरवी, शैख सगीर अहमद सलफी तथा शैख कारी अब्दुल वहिद आलियावी निर्णायकका रूपमा रहेका थिए । 
उत्सवका क्रममा विद्यार्थीहरूले उर्दू, अरबी, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा प्रभावशाली भाषण प्रस्तुत गर्दै बहुभाषिक क्षमताको प्रदर्शन गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रो. आफताब आलम (जैन कलेज, आरा)ले विद्यार्थी जीवनमा मेहनत, लगन र दृढता अनिवार्य हुने बताए । प्रो. गुलनवाज उस्मानीले धार्मिक शिक्षासँगै आधुनिक शिक्षा र बहुभाषिक दक्षताको आवश्यकता औंल्याए । डा. अब्दुल हलीम बिस्मिल्लाह मदनीले नियमितता, भाषिक क्षमता र उस्तादप्रतिको सम्मानमा जोड दिए ।

प्रमुख अतिथि मोहम्मद मुस्तफा काअबी अजहरीले आरा–बिहार क्षेत्र भारतको पहिलो इस्लामी शैक्षिक केन्द्रका रूपमा परिचित रहेको उल्लेख गर्दै इस्लामले शिक्षालाई सर्वोच्च प्राथमिकता दिएको धारणा व्यक्त गरे । 

कार्यक्रमका अवसरमा विभिन्न विद्वानहरूलाई सम्मान–पत्र प्रदान गरिएको थियो भने हिफ्ज पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार, शिल्ड र प्रमाण–पत्र वितरण गरिएको थियो ।

अन्त्यमा नाज़िमे आला अनवर अली आरवीले उत्कृष्ट आतिथ्य, व्यवस्थापन तथा सहयोगका लागि सबैप्रति आभार व्यक्त गर्दै दुआका साथ कार्यक्रमको समापन गरे । सहभागीहरूले यस ऐतिहासिक अधिवेशनले मदरसा अहमदिया सलफियाको शैक्षिक, धार्मिक तथा सामाजिक योगदानलाई पुनः उजागर गरेको बताएका छन् ।

सम्बन्धित खबर