
काठमाडौं : नेपालमा आकर्षक रोजगारीको वर्गमा राखिएको कोरियाली फार्महरूमा मौसमी कामदारहरूको अवस्था दयनीय देखिएको छ । मौसमी कामदारको संख्या बढ्दै गएपनि कृषि र मत्स्यपालन क्षेत्रका कामदारहरूको अधिकारका बारेमा आधारभूत जानकारीमा पहुँच नरहेको नयाँ सर्वेक्षणले देखाएको छ ।
बिहीबार सार्वजनिक ग्योन्गी प्रान्तको सर्वेक्षण अनुसार मौसमी कामदारहरूमध्ये २३ प्रतिशतले उनीहरूले मानव अधिकार उल्लंघन भएको बताएका छन् । प्रान्तीय सरकार र हान्याङ विश्वविद्यालयद्वारा ४१७ उत्तरदाताहरूसँग सर्वेक्षण गरिएको थियो । दक्षिण कोरियामा सबैजसो मौसमी कामदारहरू विदेशी नागरिक छन् ।
उनीहरूलाई ई–८ भिसाअन्तर्गत आठ महिनासम्म कोरियाली कृषि फार्म र माछापालनमा काम गर्न अनुमति दिइएको छ । विदेशी स्थानीय सरकारहरूसँग साझेदारीमार्फत वा विवाहमार्फत वा कोरियाली स्थायी बासिन्दाहरूले स्पोन्सर गरेर विदेशी कामदार लैजाने गरेका छन् ।
अधिकांश कामदारहरूलाई आफ्नो अधिकारका बारेमा बोल्ने र उजुरी गर्ने आधारभूत पक्षमा जानकारीसमेत नभएको बताइएको छ । उत्तरदाताहरूमध्ये रोजगार सम्झौता गरेका ५४.४ प्रतिशतले मात्रै सम्झौतामा भएका सर्त भने राम्रोसँग बुझेको बताएका थिए ।
अधिकारीहरूले आंशिक रूपमा कामदारहरूको मातृभाषामा सम्झौता अनुवाद नभएका कारणले उनीहरूले नबुझेको बताए । कोरियामा ग्रामीण क्षेत्रमा वृद्धहरूको संख्या बढ्दै गएका कारण श्रमिककोे अभाव तीव्र हुँदै गएको छ ।
मौसमी कामदारहरू कोरियाको कृषि जनशक्तिको महत्वपूर्ण भाग बनेका छन् । कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयका अनुसार २०२५ मा देशभरका फार्महरूमा ८६ हजार ६ सय ४८ मौसमी कामदारहरूको कोटा छुट्याइएको थियो ।
तोकिएको कार्यस्थलबाट हराउने मौसमी कामदारहरूको संख्या पनि त्यतिकै उच्च छ । त्यसले कृषि फार्म र अध्यागमन अधिकारीहरू दुवैका लागि चुनौति खडा गरेको छ । मन्त्रालयका अनुसार सन् २०२३ र २०२४ मा क्रमशः ९ सय २५ र ९ सय १५ मौसमी कामदारहरू हराएका रिपोर्ट आएको छ ।