२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बर्दिया स्कुल कप क्रिकेटको उपाधिका लागि बगलामुखी र शम्भुशरण भिड्ने

shivam cement
दीपकलाल श्रेष्ठ
२०८२ मंसिर २८ गते २०:०३
Shares
बर्दिया स्कुल कप क्रिकेटको उपाधिका लागि बगलामुखी र शम्भुशरण भिड्ने

बर्दिया : बर्दिया स्कुल कप क्रिकेट २०८२ प्रतियोगिताको उपाधिका लागि राधाकृष्ण थारु बगलामुखी माध्यमिक विद्यालय र शम्भुशरण माध्यमिक विद्यालय भिड्ने भएका छन् । 

जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न सेमिफाइनल खेलमा बग्लामुखी माविले गौरीशंकर माध्यमिक विद्यालयलाई ३ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्‍यो ।

टस हारेर पहिला ब्याटिङ गरेको गौरीशंकर माविले १७ ओभरमा ९ विकेट गुमाउँदै ११७ रन बनायो । टोलीका लागि शाहरुख खानले ४८ बलमा ५५ रन बनाए भने शेरखानले १३ रन जोडे । बलिङतर्फ बग्लामुखीका समिर पोखरेलले किफायती प्रदर्शन गर्दै ४ ओभरमा १३ रन खर्चिएर ४ विकेट लिए ।

११८ रनको लक्ष्य पछ्याएको बग्लामुखी माविले १४.२ ओभरमै लक्ष्य भेट्टायो । गोविन्द राठोरले २२ बलमा ३६ रनको आक्रामक पारी खेले भने सन्तोष दीक्षित र रोशन शाहीले क्रमशः १७ र १५ रन बनाए। समिर पोखरेल ‘म्यान अफ द म्याच’ घोषित भए भने गोविन्द राठोर ‘स्ट्राइकर अफ द म्याच’ र रोशन शाही ‘क्याच अफ द म्याच’ बने ।

त्यसैगरी, अर्को सेमिफाइनल खेलमा शम्भुशरण माध्यमिक विद्यालय खैरापुरले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई ३६ रनले हराउँदै फाइनलमा स्थान बनायो । पहिला ब्याटिङ गरेको शम्भुशरण माविले १७.१ ओभरमा अलआउट हुँदै ११६ रन जोड्यो । सेराज अन्सारीले २१, निरज खैराहाले १९ रन र अमद खैराहाले १९ रनको योगदान गरे ।

लक्ष्य पछ्याएको नेपाल राष्ट्रिय मावि १५ ओभरमै ८० रनमा समेटियो। यससँगै शम्भुशरण माविले निर्णायक जित निकाल्दै फाइनल प्रवेश पक्का गर्‍यो ।

जिल्ला क्रिकेट संघ बर्दियाका सदस्य तथा प्रतियोगिता संयोजक सिद्धार्थ श्रेष्ठका अनुसार प्रतियोगिताको फाइनल खेल सोमबार गुलरियास्थित कबर्डहल मैदानमा आयोजना हुनेछ ।

जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष विनयराज भण्डारीले स्कुल केन्द्रित प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । “स्कुल तहमा लुकेका क्रिकेट प्रतिभालाई उजागर गर्न यस्ता प्रतियोगिता प्रभावकारी हुन्छन्,” उनले भने, “यसले जिल्लाको क्रिकेट गतिविधिलाई चलायमान बनाउँछ र भविष्यमा निरन्तरता दिने हाम्रो योजना छ ।”

स्वर्गीय कृष्णप्रसाद बस्याल ‘राकेश’को स्मृतिमा आयोजना गरिएको बर्दिया स्कुल कप क्रिकेट २०८२ मंसिर २१ गतेबाट सुरु भएको हो । प्रतियोगितामा जिल्लाभरका १० वटा माध्यमिक विद्यालय सहभागी थिए ।

सम्बन्धित खबर