
रौतहट : रौतहटको राजपुर नगरपालिकाले लामो समयदेखि भाडाको साँघुरो भवनबाट सेवा दिँदै आएको अवस्थाको अन्त्य गर्दै आफ्नै आधुनिक प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । सोमबार एक समारोहबीच नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।
नगरप्रमुख डा. मोहम्मद राजिक आलमले भवन प्राङ्गणमा शिलालेख अनावरण र रिबन काटेर विधिवत् उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख आलमले यो भवनलाई नगरपालिकाको दीर्घकालीन विकासको महत्वपूर्ण आधार भएको बताए । “यो संरचना मात्र होइन, सुशासन, पारदर्शिता र उत्तरदायित्वको प्रतीक हो,” उनले भने, “यसले कर्मचारी र सेवाग्राही दुवैलाई सहजता प्रदान गर्दै सेवा प्रवाहमा गुणात्मक परिवर्तन ल्याउनेछ ।”
प्रमुख प्रशासकीय अधिकृतले नयाँ भवन सञ्चालनमा आएपछि प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय सुधार आउने र नागरिक सन्तुष्टि बढ्ने विश्वास व्यक्त गरे । उपस्थित नागरिकहरूले पनि भवन निर्माणले नगरको विकासमा नयाँ गति थपेको भन्दै खुसी व्यक्त गरेका थिए ।
आधुनिक मापदण्डअनुसार निर्माण गरिएको यो भवनमा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षका साथै सबै शाखा तथा फाँटहरू व्यवस्थित रूपमा राखिएका छन् । सेवाग्राहीका लागि छुट्टै प्रतीक्षालय र विभिन्न कक्षको व्यवस्था गरिएको छ । यसले एकै छानामुनि सबै सेवा छिटोछरितो प्राप्त हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।
नयाँ भवनको प्रयोगसँगै राजपुर नगरपालिकाको सेवा प्रवाह थप सहज, प्रभावकारी र जनमुखी हुने विश्वास लिइएको छ ।