२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार’ कोपिलालाई

ADV
पवन जायसवाल
२०८१ साउन १२ गते २१:२७
‘प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार’ कोपिलालाई

नेपालगन्ज : सुप्रसिद्ध साहित्यकार, गजलकार, गायक, संगीतकार तथा गीतकार स्व.प्रेम प्रकाश मल्लको नाममा स्थापना गरिएको यस वर्षको पुरस्कार चर्चित गजलकार खगेन्द्र गिरि ‘कोपिला’लाई  प्रदान गरिएको छ ।

शनिबार भेरी साहित्य समाजले आयोजना गरेको कार्यक्रममा ५१ हजार १ सय ११ रुपैयाँसहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार ‘कोपिला’लाई प्रदान गरिएको हो । पुरस्कृत साहित्यकार ‘कोपिला’लाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ श्रष्टा सनत रेग्मीले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका हुन् ।

प्रेम प्रकाश मल्लको ८९ औं जन्मजयन्तिको अवसर पारेर आयोजना गरिएको सो समारोहमा भेरी साहित्य समाजद्वारा प्रकाशित बाँके शताब्दी साहित्य ग्रन्थ प्रकाशनमा सहयोग गर्ने स्थानीय निकाय तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि रेग्मीले मोफसलका सर्जकहरु विभेदमा परेको उल्लेख गर्दै मल्लका गीत राष्ट्रियस्तरमा पनि लोकप्रिय रहेको चर्चा गर्दै पुरस्कृत व्यक्तित्व कोपिलालाई गरिएको छनौट एकदमै उपयुक्त भएको धारणा राखेका थिए । 

कार्यक्रममा प्रतिभा छनौट समितिका सदस्य समाजका सल्लाहकार वरिष्ठ पत्रकार पूर्णलाल चुकेले साहित्यकार ‘कोपिला’लाई पुरस्कारका लागि छनोट गरिएका आधारहरुका बारेमा स्पष्ट पार्दै उनको साहित्यिक व्यक्तित्व र योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बाँके जिल्लामा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा गरिने अभियानमा प्रशासनिक तौरमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकाल, पुरस्कृत श्रष्टा खगेन्द्र गिरि ‘कोपिला’, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं.–१ का वडाध्यक्ष प्रमोद रिजाल, समाजका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद रिजाल, लगायतले स्वर्गीय प्रेम प्रकाश मल्ल मधुकरको व्यक्तित्व, कृतित्व र योगदानको बारेमा प्रकाश पारेका थिए । 

यस्तै पुरस्कार कोषका संस्थापकका तर्फबाट स्व.मधुकरकी जेष्ठ सुपुत्री वाणीश्री मल्लले साहित्यको उन्नयनका लागि बुबाको योगदानलाई जीवन्त राख्न आह्वान गरेकी थिइन् । 
समाजका निवर्तमान अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले पुरस्कारको अक्षय कोषमा अहिले रु.५ लाख भन्दा बढी पु¥याइएको र मुद्दतिमा राखिएको उक्त रकमको ब्याजबाट पुरस्कार र अन्य व्यवस्थापन गरिएको जानकारी दिए । 

कार्यक्रममा समाजका सदस्य मीना बरालले पुरस्कृत व्यक्तित्व कोपिलाको कृतित्व, साहित्यिक व्यक्तित्व तथा योगदानका बारेमा विस्तृत प्रकाश पारेकी थिइन् ।

भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रम समाजका महासचिव गीता अर्यालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा बाँके शताब्दी प्रकाशन गर्नमा सहयोग गर्नेहरुमा नेपालगञ्ज उप–महानगरपालिका वडा नं.–१ का वडाध्यक्ष प्रमो रिजाल, वडा नं.–२० का वडाध्यक्ष कौशल कुमार धोबी, कपिन्द्रराज सिग्देल, भेरी साहित्य समाज दैलेखका अध्यक्ष चन्द्र रावत, कृष्णसार विद्या निकेतन बढैयातालका नृपेन्द्र जिसी, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल लगायतलाई सम्मान गरिएको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise