
बर्दिया : बर्दियाको गुलरियामा जारी बर्दिया स्कुलकप क्रिकेट प्रतियोगिताको उपाधि बगलामुखी माविले जितेको छ । मंसिर २१ गतेदेखि सञ्चालित स्वर्गीय कृष्णप्रसाद बस्याल राकेश स्मृति स्कुलकप २०८२ को सोमबार भएको फाइनल खेलमा शम्भुशरण माविलाई सुपर ओभरमा १० रनले पराजित गर्दै बगलामुखीले उपाधि जितेको हो ।
दुवै टिमले १० विकेटको क्षतिमा समान ९४ रन बनाएर अलआउट भएपछि खेल सुपरओभरमा गएको थियो ।
टस जितेर पहिलो ब्याटिङ गरेको शम्भुशरण मावि खैरापुरले निर्धारित २० ओभरको खेलमा १० विकेटको क्षतिमा ९४ बनाएको थियो । शम्भुशरण माविका लागि गौरव खैराहाले १३ बलमा १५ रन बनाए भने अहमद अलीले २० बलमा १३ बनाए । कपिल खत्रीले १० बलमा ११ रनको योगदान गरे ।
शम्भु शरण माविलाई ९४ रनमा अलआउट गर्ने क्रममा बगलामुखी माविका लागि सुशान्त खनालले ७ रन दिएर तीन विकेट लिए भने आकाश यादवले १६ रन दिएर ३ विकेट र समिर पाण्डेले १३ रन दिएर १ विकेट लिए ।
९५ रनको लक्ष्य पछ्याएको बगलामुखी ९४ रन मै अल आउट हुन पुगेको थियो । जसका कारण खेल सुपर ओभरमा गएको थियो ।
बगलामुखीका लागि अमन यादवले २५ बलमा २१ रन बनाए भने सुशान्त खनालले ५ बलमा ९ रन र हार्दिक माझिले ११ बलमा आठ रन बनाए ।
शम्भुशरणका लागि गौरव खैराहाले ९ रन दिएर ४ विकेट लिए भने कपिल खनालले १० रन दिएर ३ विकेट लिए ।
खेल बराबरी भएपछि सुपरओभरको खेलमा बगलामुखीले निर्धारित एक ओभरमा १२ रन बनाएको थियो । जितका लागि १३ रनको लक्ष्य पछ्याएको शम्भुशरणले दुई रन मात्र बनाउन सक्यो ।
जितसँगै बगलामुखी माध्यमिक विद्यालयले २० हजार नगद प्राप्त ग¥यो भने दोस्रो भएको शम्भुशरण मावि खैरापुरले १० हजार नगद प्राप्त ग¥यो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका बगलामुखी माध्यमिक विद्यालयका आकाश यादव म्यान अफ द म्याच घोषित भए भने फाइनल म्याचको स्ट्राइकर अफ द म्याच अमन यादव भए । साथै फाइनलको क्यास अफ द म्याच सलमान अलि भए ।
प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेर बलिङमा १४ विकेट र ब्याटिङमा ६० रन बनाएका बगलामुखी माध्यमिक विद्यालयका आकाश यादव म्यान अफ दि सिरिज भए भने उत्कृष्ट ब्याटिङ गरेर १ सय ५२ रन बनाएका गौरीशंकर मावि गुलरिया ११ डल्लापुरका शाहरुख खान उत्कृष्ट ब्याट्सम्यान घोषित भए । साथै प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिएका फाइनल विजेता बगलामुखी माध्यमिक विद्यालयका आकाश यादव उत्कृष्ट बलर घोषित भए ।
स्वर्गीय कृष्णप्रसाद बस्याल राकेशको स्मृतिमा जिल्ला क्रिकेट संघ बर्दियाद्वारा सञ्चालित यस प्रतियोगितामा जिल्लाभरिका १० वटा माध्यमिक विद्यालय हरुको सहभागिता रहेको थियो ।
फाइनल खेलका सम्पूर्ण प्रतियोगीहरूलाई स्वर्गीय कृष्णप्रसाद बस्यालका पत्नी निर्मला अधिकारी बस्याल र गुलरिया नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुरेश गौतमले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।
जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष विनयराज भण्डारीले यस्ता किसिमका प्रतियोगिताले खेलाडीहरू क्रिकेट खेलप्रति आकर्षित हुने र नयाँ प्रतिभाको पहिचान हुने हुँदा संघ यस किसिमका प्रतियोगिता आयोजनामा निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।