
काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सबैको धारणा बुझेर मात्रै वैदेशिक रोजगार क्षेत्रमा नयाँ निर्णय गर्ने बताएका छन् । मन्त्री भण्डारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन मंगलबार मन्त्रालय पुगेको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।
यसअघि सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिलाई मन्त्री भण्डारीले सुधारका लागि आफू तयार रहेकोे जानकारी दिँदै समस्या समाधानको खाका लिखित रूपमा पेस गर्न आग्रह गरेका थिए ।
मंगलबार मञ्चले वैदेशिक रोजगार क्षेत्रमा समस्याका रूपमा रहेका जिट्कोका कारण जापानको रोजगारीमा समस्या रहेको भन्दै जिट्को खारेजी, युरोपमा मागपत्र प्रमाणीकरण, सेवा शुल्क परिमार्जन तथा स्वास्थ्य परीक्षण शुल्कबारे मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको मञ्चका अध्यक्ष धनलाल जैसीले जानकारी दिए ।
त्यसैगरी मञ्चले नेपालमा भएको जेनजी आन्दोलनपछि स्थगित भएको युएई भिसा प्रक्रिया पूर्ण सुचारु भएसँगै युएई सरकारको मागबमोजिम नेपाल प्रहरीले प्रदान गर्ने चालचलन रिपोर्ट क्युआरसहित अनलाइन भेरिफाइ हुने र नेपाल सरकारको कन्सुलर कार्यालयले प्रमाणीकरण गरिसकेको अवस्थामा नेपालमा रहेकोे युएई दूतावासबाट प्रमाणीकरण गर्दा लागत बढेको र समयले कामदारमाथि परेको भारलगायतका विषयमा ध्यानाकर्षण गराएको छ ।
मञ्चले युरोपियन मुलुकहरूमा मागपत्र प्रमाणीकरण नभएका कारण हाल धेरै कामदार ठगीमा परेको र हाल शैक्षिक परामर्श, होटल, ट्राभल र केही व्यक्तिले असुरक्षित रूपमा पठाएकाले संस्थागत रूपमा पठाउन पहल गरिदिन पनि आग्रह गरेको छ ।
मञ्चले हाल फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगार व्यवसायीहरूले पठाउन नसक्ने र वैदेशिक रोजगार व्यवसायीलाई कार्यालय व्यवस्थापन गर्न समस्या भइरहेको भन्दै प्रशासनिक खर्च बापत कामदारले पाउने एक महिनाको तलब बराबरको रकम लिन पाउने व्यवस्था गरिदिन पनि माग गरेकोे महासचिव कुन्छा दोर्जे दिमदोङले बताए ।
अध्यक्ष जैसीको नेतृत्वमा गएको मञ्चको टोलीमा कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियोे ।