२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

रौतहट यातायात कार्यालयद्वारा अनलाइन लाइसेन्स फारम प्रणाली सुधारको माग

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष २ गते १४:५१
Shares
रौतहट यातायात कार्यालयद्वारा अनलाइन लाइसेन्स फारम प्रणाली सुधारको माग

रौतहट : गत भदौ २३-२४ मा भएको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको केन्द्रीय कार्यालयमा भएको तोडफोड र आगजनीका कारण देशभर सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सेवाहरू प्रभावित भएपछि सेवाग्राहीहरू ठुलो समस्यामा परेका छन् । लाइसेन्स दर्ता, नवीकरण र अन्य सेवामा अवरोध आएकाले सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ ।

यसैक्रममा यातायात व्यवस्था कार्यालय, गौर, रौतहटले अनलाइन फारम आवेदन प्रणालीमा देखिएका गम्भीर समस्याहरू तत्काल समाधान गर्न सम्बन्धित निकायसँग माग गरेको छ । कार्यालयका अधिकृत कामेश्वर साह र नसिम अहमदले संयुक्त रूपमा जारी गरेको ध्यानाकर्षण पत्रमा अनलाइन प्रणालीको जटिलता र अव्यवस्थाका कारण सेवाग्राहीहरू अनावश्यक हैरान भइरहेको उल्लेख गरिएको छ ।

अधिकारीहरूका अनुसार, सवारी चालक अनुमति पत्र अत्यावश्यक सेवा हो तर अनलाइन प्रणालीको प्राविधिक समस्या र जटिलताले सेवाग्राहीहरू फारम भर्नै नसक्ने वा त्रुटिपूर्ण फारम भरेर दुःख पाइरहेका छन् । “हामीले सेवाग्राहीलाई सहज र झन्झटमुक्त सेवा दिन अनलाइन प्रणालीलाई सरल, व्यवस्थित र त्रुटिरहित बनाउनुपर्छ,” पत्रमा भनिएको छ ।

भदौ २३-२४ गतेको आन्दोलनका क्रममा विभागको डाटा सेन्टर र छपाइ मेसिनमा क्षति पुगेपछि अनलाइन प्रणालीहरू लामो समय अवरुद्ध भएका थिए । हाल आंशिक रूपमा सेवा सुचारु भए पनि सर्भर डाउन हुने, फारम भर्न कठिनाइ र अन्य प्राविधिक समस्या कायमै छन् । यसले कार्यालयहरूमा सेवाग्राहीको चाप बढाएको र समस्यालाई झन् जटिल बनाएको गौर कार्यालयको ठहर छ ।

सेवाग्राहीहरू अनलाइन फारम भर्न नसकी बारम्बार कार्यालय धाउनुपर्ने, साइबरमा घण्टौं कुर्नुपर्ने र सिस्टम क्र्यास हुँदा फारम नै हराउने जस्ता समस्या भोगिरहेका छन् । कार्यालयले विभागलाई प्रक्रियालाई सकेसम्म सरल र सेवाग्राहीमैत्री बनाउन, एकैपटक धेरैले फारम भर्दा सर्भर डाउन नहुने गरी क्षमता वृद्धि गर्न, प्राविधिक समस्याहरूको स्थायी समाधान गर्न तथा
फारम स्वीकृतिको स्थिति र पालोबारे स्पष्ट जानकारी दिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

सम्बन्धित खबर