
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रमको मूल्य भन्दा कम पारिश्रामिकमा नेपाली कामदार विदेश पठाउन नहुने बताएका छन् । २५औं अन्तर्राष्ट्रिय आप्रवासनको व्यवस्थापन तथा पुनः एकीकरणका विषयमा मन्त्रालयमा आयोजित कार्यक्रममा उनले श्रमको मूल्य र सुरक्षाको ग्यारेन्टी गरेर दक्ष सीपयुक्त व्यक्तिलाई मात्रै रोजगारका लागि अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्ने बताए ।
हाल विश्वव्यापी रुपमा १ करोड ७९ लाख भन्दा बढी श्रम आप्रवासी रहेको उल्लेख गर्दै उनले नेपालबाट पनि वार्षिक ८ लाख ३९ हजार नेपाली रोजगारीका लागि बिदेसिने गरेको जानकारी दिए । विदेशमा पहिलो पटक जाने नै पाँच लाख बराबरको जनशक्ति रहेको र त्यो अझ थपिने क्रममा रहेको उनको भनाइ छ ।
उनले नेपालको विकासमा आवश्यक जनशक्ति पुँजी र रोजगारको खोजीमा बिदेसिन बाध्य रहेको बताए । हाल नेपालमा नै उनीहरूलाई रोक्न सक्ने अवस्था पनि नरहेको उनको भनाइ छ । उनले नेपालमा रोजगारीको सम्भावना र अवसरहरूको खोजी गरी बजारको माग, अवस्था पहिचान गरेर सोही अनुरूपको सीपयुक्त र दक्ष जनशक्ति निर्माण गर्न लाग्नुपर्ने बताए ।
विश्व बजारको मागअनुसारको सीपयुक्त, क्षमतावान र दक्ष जनशक्तिहरू विदेश पठाउनसके मात्रै नेपालीहरू श्रम शोषणमा नपर्ने उनले बताए । उनले श्रम गर्नका लागि विदेश जान बाध्य नेपालीहरूलाई म्यानपावर कम्पनी तथा बिचौलियहरूले दु:ख दिने गरेको उल्लेख गरे ।
वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्ने, दुःख दिनेलाई कारबाही गर्न मन्त्रालयले विशेष संयन्त्र तयार गर्न लागेको पनि उनले जानकारी दिए । मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोसँगको सहकार्यमा ठगीमा संलग्नहरूलाई कारबाही गर्न विशेष अभियान नै सञ्चालन गर्ने उनको भनाइ छ ।