
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेको ठगी रोक्न कडा रूपमा प्रस्तुत हुने बताएका छन् ।
२५औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा आप्रवासनको व्यवस्थापन तथा पुनः एकीकरणका विषयमा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले आफूलाई प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारमा रहेको ठगी रोक्न कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको भन्दै कुनै मोलाहिजा नगरी कडा रूपमा प्रस्तुत हुने बताए ।
आफू अब्बल अनुसन्धान गर्ने प्रहरी अधिकारीको पृष्ठभूमिबाट मन्त्रीको जिम्मेवारीमा आएको भएपनि वैदेशिक रोजगारभित्र रहेका ठगीका कारण आफूलाई श्रममन्त्रीको हैसियतले गाडीमा झण्डा फहराएर हिँड्न समेत लज्जा र ग्लानी हुने गरेको बताए । उनले भने, ‘त्यही हिनताबोधका कारण म सार्वजनिक समारोहबाहेक अन्य समयमा गाडीमा राष्ट्रिय झण्डा फहराएर हिँड्ने गरेको छैन ।’
कार्यक्रमको सुरुवातमा लिखित मन्तव्य राखेका मन्त्री भण्डारीले लिखित धारणापछि निजी धारणा राख्दै आफू श्रममन्त्री भएको थाहा पाएपछि गाउँलेले बधाई दिँदा श्रम मन्त्रालयलाई सरम ‘लाज’को मन्त्रालय भन्दै खिसिट्युरी गरेको बताए । मन्त्री भण्डारीले मन्त्रालयले आगामी सोमबारसम्म शक्तिशाली टास्कफोर्स गठन गरेर कुनै लाज सरम वा संकोच नमानी ठगीमा संलग्नहरूविरुद्ध कारबाहीमा उत्रिने बताए ।
मन्त्री भण्डारीले ठगीमा संलग्न वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गर्नेबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघबाट स्पष्ट धारणा आउनुपर्ने बताए । कार्यक्रम मञ्चको दायाँपट्टी रहेका संघका अध्यक्ष भुवनसिंह गुरुङलाई इंगित गर्दै मन्त्री भण्डारीले भने, ‘मैले अध्यक्ष गुरुङजीलाई ठगीमा संलग्न व्यवसायीको नाम दिनुहोस् भनेको छु, उहाँले अहिलेसम्म हुन्छ पनि भन्नु भएको छैन हुन्न पनि भन्नु भएको छैन ।’
मन्त्री भण्डारीले माइग्रेसन व्यक्तिगत विषय भएपनि नेपालको अवस्था भने पीडादायी रहेको बताए । उनले भने, ‘पुँजीका लागि श्रम बेच्न जानुपर्छ । वार्षिक ५ लाख नयाँ जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेको छ । आर्जन भएको उपभोगमा सकिएको छ ।’
वैदेशिक रोजगार बोर्डले वार्षिक ६ हजार बढीको शव फिर्ता ल्याएर २३ करोड ६३ लाख खर्च गरेको विषयलाई उपलब्धिको रूपमा देखाएको भन्दै मन्त्री भण्डारीले भने, ‘यस्तो उपलब्धि लाजमर्दो उपलब्धि हो । मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा गएकाहरूको योगदान उच्च छ । तर योगदानकर्ता प्रताडित छन् । न्यूनतम ज्यालामा अमानवीय रूपमा काम लगाइएको छ ।’
मन्त्री भण्डारीले युक्रेन युद्धमा गएर फर्केको कामदारले जेनजी आन्दोलनमा रगत बगाएको भन्दै व्यवसायी र कर्मचारीले जेनजी आन्दोलनमा रगतले लटपटिएको बुट र विमानस्थलमा दैनिक आउने कफनलाई ध्यान दिएर काम गर्नुपर्ने बताए ।
मन्त्री भण्डारीले मुलुकमा कुशासन, भ्रष्टाचार र बेथितीको चरम अवस्था रहेको भन्दै समस्या समाधान नभए मुलुकमा अर्को विस्फोट हुने भन्दै त्यतिबेला सबैले पुर्पुरोमा हात लगाएर बस्नुको विकल्प नरहने समेत बताए ।
उनले आफू कुनै तलमाथि नगरी सुधारका लागि प्रतिबद्ध रहेको पनि बताए । उनले भने, ‘मलाई राजनीति गर्ने बानी छैन, दल चलाउनु पनि छैन, न त मन्त्री बनाउन अनुग्रह छ ।’ मन्त्री भण्डारीले कम तलबमा नेपाली कामदार पठाउन नहुने भन्दै श्रम गन्तव्य मुलुकहरूले पनि नेपाली कामदारलाई उनीहरूको श्रमको उचित मूल्य र सुविधा दिन आग्रह गरे ।
त्यस अवसरमा नेपाल लेवर माइग्रेसन रिपोर्ट २०२४ सार्वजनिक गरिएको थियो । प्रतिवेदन इन्टरनेसनल लेवर अर्गनाइजेसन (आइएलओ)को प्राविधिक सहयोगमा श्रम मन्त्रालयद्वारा तयार पारिएको हो । हरेक दुई वर्षमा प्रकाशन हुने प्रतिवेदनले नेपालीको वैदेशिक रोजगार प्रवृत्ति देखाउने गरेको छ ।
आइएलओका राष्ट्रिय निर्देशक नुमान ओज्कानले आप्रवासी कामदारको हकहित, अधिकार रक्षाका लागि सबैको सहकार्य आवश्यक भएको बताए । कार्यक्रममा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले आप्रवासन संस्कृतिलाई रोक्न नसकिने हककुदा यसको सही व्यवस्थापनमा रणनीति बनाएर जानु नै उपयुक्त हुने बताए ।
कार्यक्रममा वैदेशिक रोजगार बोर्डका पदाधिकारी, विशेषज्ञ समितिका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका महाशाखा प्रमुखहरू, वैदेशिक रोजगार विभागका महानिर्देशक, निर्देशक, आइएलओ कन्ट्री डाइरेक्टर नुमान ओजकान, स्वीस परियोजना म्यानेजर एन्टोनिया फ्लुक, आप्रवासनबाट फर्किएका कामदारको पुनःएकीकरण (रेमी) कार्यक्रमका टिम लिडर मधुशिखा लानशंकार, संघका अध्यक्ष गुरुङलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विश्व आप्रवासी दिवसका अवसरमा मंगलबार सम्पन्न फुटसल प्रतियोगिताको विजयी खेलाडीलाई मन्त्री भण्डारीले पदक तथा शिल्ड प्रदान गरे ।
प्रतियोगितामा पुरुषतर्फ मन्त्रालयका सचिव डा. पुष्कर नेतृत्वको कर्मचारी टिम विजयी भएको थियो भने महिलातर्फ संघकी कोषाध्यक्ष धनु सिंजालीको टिम विजयी भएको थियो । कार्यक्रम मन्त्रालयका सचिव डा. पुष्करको अध्यक्षतामा भएको थियो ।