२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

स्वास्थ्य परीक्षणको शुल्क वृद्धि मन्त्रालयद्वारा खारेज

Nada
२०८२ पुष ५ गते ०६:१०
Shares
स्वास्थ्य परीक्षणको शुल्क वृद्धि मन्त्रालयद्वारा खारेज

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाउने गत कात्तिक ३० गतेको निर्णय खारेज गरेको छ । मन्त्रालयले प्रधानमन्त्री सुशीला कार्कीको सहमतिमा भन्दै गत कात्तिक ३० गते वैदेशिक रोजगारमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले लिने परीक्षण शुल्क ९ हजार ५ सय रुपैयाँ निर्धारण गरेको थियो ।

ncell

मन्त्रालयले शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतका विभिन्न संस्थाहरूबाट सो शुल्क वृद्धि महँगो भएको भनेर गुनासो आएकाले हाललाई उक्त वृद्धि शुल्क खारेज गरेको बताएको छ ।

मन्त्रालयको सूचनामा ९ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको २०८१ चैत ८ को निर्णय र सो निर्णयबमोजिम वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ मा भएको सातौं संशोधित व्यवस्था, उक्त निर्णयबमोजिम २०८२ कात्तिक ३० मा भएको प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरबाट भएको निर्णय मिति २०८२ पुस ४ गतेको मन्त्रीस्तरको निर्णयानुसार खारेज गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले स्वास्थ्य परीक्षण र परीक्षण शुल्क साबिक बमोजिम नै हुने गरी कार्यान्वयन गर्नु÷गराउनु हुन सम्बद्ध सबैमा जानकारी गराइन्छ ।’

साबिकमा परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँ थियो । स्वास्थ्य परीक्षण शुल्क बढी भएको भन्दै संघ अध्यक्ष भुवनसिंह गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा घटाउन माग गरेका थिए ।

वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने मेडिकल संस्थाहरूले ३४ प्रकारको स्वास्थ्य परीक्षण गर्दा सरकारी अस्पतालमा नै १२ हजार लाग्ने अवस्थामा ९ हजार ५ सय कायम गर्नु समयसापेक्ष रहेको बताउँदै आएका थिए ।

सम्बन्धित खबर