२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सोमपाल कामी- विभेद चिरेर बनेका गहना

shivam cement
दिवाकर अधिकारी
२०८२ पुष ५ गते ०६:१५
Shares
सोमपाल कामी- विभेद चिरेर बनेका गहना

काठमाडौं : गुल्मीको एउटा सामान्य गाउँबाट उठेको एउटा असाधारण नाम– सोमपाल कामी । जहाँ सपनाभन्दा अगाडि सामाजिक पहिचान बोल्थ्यो, जहाँ प्रतिभाभन्दा पहिला जात देखिन्थ्यो, त्यहीँबाट उनले आफ्नो यात्रा सुरु गरे । आज उनी केवल नेपाली क्रिकेटका फास्ट बलर मात्र होइनन्, विभेद चिरेर अघि बढ्न सकिन्छ भन्ने जिउँदो प्रमाण हुन् । 

सीमित अवसरबीच हुर्कंदा पनि उनको आँखामा एउटा मात्रै सपना थियो– क्रिकेट । हातमा बल समात्दा, उनले आफ्नो भाग्य पनि समातेका थिए ।

तीन वर्षको उमेरमै आमाबुबासँगै भारतको पञ्जाब पुगेका सोमपालको बाल्यकाल उतै बित्यो । अपरिचित भूमि, नयाँ भाषा र संस्कृतिबीच पनि एउटा कुरा कहिल्यै बदलिएन– क्रिकेटप्रतिको प्रेम । भारतमै स्कुलस्तरका प्रतियोगिता खेले, त्यहीँ क्रिकेटका आधार सिके । पछि इन्डियन प्रिमियर कर्पोरेट लिग पनि खेले ।

सन् २०१३ मा सोमपाल क्रिकेटकै सपना बोकेर नेपाल फर्किए । सजिलो थिएन त्यो यात्रा । प्रतिस्पर्धा कडा थियो, अवसर सीमित । तर भाग्यभन्दा ठुलो कुरा मिहिनेत हो भन्ने प्रमाणित गर्दै उनी राष्ट्रिय टिमको ढोकासम्म पुगे ।

सन् २०१४ न्युजिल्यान्डमा वल्र्डकप क्वालिफायर । त्यतिबेलाका मुख्य फास्ट बलरहरू अमृत भट्टराई, जितेन्द्र मुखिया र अविनाश कर्ण घाइते भए । संकटको त्यो घडीमा सोमपाललाई अवसर मिल्यो । युएईविरुद्धको खेलबाट उनले राष्ट्रिय टिममा डेब्यु गरे । विकेट नआए पनि आत्मविश्वास डगमगाएन । अर्को खेल– स्कटल्यान्डविरुद्ध । त्यस खेलमा उनले तीन विकेट लिए । क्वालिफायरका सबै खेल खेलेर उनले आठ विकेट लिए । त्यो संख्या मात्रै होइन, त्यो थियो एउटा संकेत– नेपालले एउटा भरपर्दो फास्ट बलर पाएको ।

त्यसपछि सोमपालको यात्रा निरन्तर उकालो लागिरह्यो । सन् २०१४ को टी–२० विश्वकप खेले । सन् २०२४ को विश्वकपमा पनि उनले देशको जर्सी लगाएर मैदान उत्रिए । अब २०२६ को विश्वकप खेल्ने सम्भावना पनि लगभग निश्चित छ । यो संयोग होइन, यो लामो समयसम्म गरेको कडा मिहिनेतको फल हो ।

सन् २०१५ मा श्रीलंकाको सारासेन्स स्पोर्ट्स क्लबबाट फस्ट क्लास क्रिकेटमा डेब्यु गरे । सन् २०१९ मा ग्लोबल टी–२० क्यानडामा विनिपेग हक्सका लागि खेले । उनी नेपाली फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सका कप्तान छन् ।

सोमपाल कामीको कथा क्रिकेटको मात्र कथा होइन । यो प्रमाण हो– प्रतिभा जात हेर्दैन, सपना ठाउँ हेर्दैन । अवसर पाएपछि, एउटा गाउँको छोरो पनि राष्ट्रको गहना बन्न सक्छ ।

सम्बन्धित खबर