२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

शेख दाजुभाइ- एउटै आँगनबाट विश्व मञ्चसम्म

shivam cement
२०८२ पुष ५ गते ०६:२०
Shares
शेख दाजुभाइ- एउटै आँगनबाट विश्व मञ्चसम्म

काठमाडौं : वीरगन्जको नारायणी रंगशालाको छेउमै रहेको एउटा घर । त्यही घरको आँगनमा क्रिकेट खेल्दै हुर्किए– आरिफ शेख र आसिफ शेख । दाजुभाइका लागि क्रिकेट खेल मात्र थिएन, परिवारको सपना थियो ।

आसिफले दाजु आरिफसँगै क्रिकेट सिके । सानोमा आरिफ ब्याटिङ गर्थे, आसिफ बलिङ । कहिले बल टिप्ने, कहिले अभ्यासमा साथ दिने । दाजुको प्रगति देख्दै आसिफ अझै गहिरो रूपमा क्रिकेटमा होमिए । विद्या सदनमा पढ्दा छात्रावृत्ति पाएपछि उनको क्रिकेट यात्रा झन् सहज बन्यो ।

बुबा क्रिकेटका ठुला प्रशंसक थिए । आफूले पूरा गर्न नसकेको सपना छोराहरूले पूरा गरून् भन्ने चाहना थियो । परिवारको यही साथले शेख दाजुभाइलाई बलियो बनायो ।

आसिफले सन् २०१२ मा जिल्ला छनोट हुँदै एसिसी यु–१६ सम्म यात्रा गरे । मलेसियामा भएको यु–१६ प्रिमियर लिगमा नेपाल च्याम्पियन बन्दा उनी उपकप्तान थिए । कम उमेरमै नेतृत्वको अनुभव बटुलेका आसिफपछि यु–१९ टिमका कप्तान पनि बने । सन् २०१८ को एभरेस्ट प्रिमियर लिग फाइनलमा नटआउट १११ रन प्रहार गरेपछि उनी देशभर चर्चित भए ।

सन् २०२१ मा आसिफले राष्ट्रिय टिमबाट टी–२० आई र ओडिआईमा डेब्यु गरे । नेदरल्यान्ड्सविरुद्धको पहिलो टी–२० आईमै अर्धशतक प्रहार गरे । विकेटकिपिङ र ओपनिङमा उनी आज नेपालको भरोसायोग्य नाम बनेका छन् । खेलभावनाको उदाहरण बनेर उनले आइसिसी र एमसिसीको ‘स्पिरिट अफ क्रिकेट’ अवार्डसमेत जिते ।

दाजु आरिफ शेखको यात्रा पनि त्यत्तिकै संघर्षपूर्ण छ । सन् १९९७ मा वीरगन्जमा जन्मिएका उनी मध्यक्रमका ब्याटिङ अलराउन्डर हुन् । स्कुल र कलेज क्रिकेट हुँदै यु–१९ र त्यसपछि राष्ट्रिय टिमसम्म पुगेका आरिफले इन्जिनियरिङ पढ्ने सपना त्यागेर क्रिकेट रोजे । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शनपछि उनी राष्ट्रिय टिममा स्थापित भए । आरिफ पछिल्लो एक दशकदेखि नेपालको मिडल अर्डरको भरपर्दो स्तम्भ बनेका छन् ।

शेख दाजुभाइको कथा कुनै संयोग होइन । एउटै परिवार, एउटै सपना र निरन्तर मिहिनेतले राष्ट्रिय जर्सी सम्भव बनाएको कथा हो ।

सम्बन्धित खबर