२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

दीपेन्द्रसिंह ऐरी- सुदूरपश्चिमबाट गर्जिएको बाघ

shivam cement
२०८२ पुष ५ गते ०६:२०
Shares
दीपेन्द्रसिंह ऐरी- सुदूरपश्चिमबाट गर्जिएको बाघ

कञ्चनपुरको तिलाचौर । खेतका डिल, खुला आकाश र हातमा समातिएको पुरानो बल । त्यही परिवेशबाट उठेको एउटा नाम आज विश्व क्रिकेटका तथ्यांकमा बारम्बार दोहोरिन्छ–दीपेन्द्रसिंह ऐरी । सुदूरपश्चिमको विकट भूगोलले हुर्काएको यो प्रतिभाले नेपाललाई संसारले चिन्ने बनाइरहेको छ ।

दीपेन्द्रलाई चिनाउने क्षण धेरै छन् तर केही क्षण इतिहास बनेर बसेका छन् । मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक । कतारविरुद्ध एकै ओभरमा लगातार ६ छक्का । यी कीर्तिमान केवल अंक होइनन्, नेपालजस्तो देशको आत्मविश्वास हुन्– जसले देखायो, नेपाली खेलाडी पनि विश्वस्तरको हुन सक्छ ।

उनको खेल बहुआयामिक छ । ब्याटले खेल पल्टाउँछ, बलिङले चकित पार्छ, फिल्डिङले दर्शक उठाउँछ । त्यसैले उनी केवल खेलाडी होइनन्– ‘थ्री डी खेलाडी’ हुन् । २०१८ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो वान डे खेल्दा मैदानमा उत्रने ११ मध्ये एक दीपेन्द्र पनि थिए । इतिहासको साक्षी मात्र होइन, इतिहास बनाउने पात्र ।

खेतमा खेल्दै हुर्किएका दीपेन्द्रले घरेलु क्रिकेटमै आफ्नो क्षमता देखाए । तर पहिचान पाउन समय लाग्यो । २०१६ को यु–१९ एसिया कपमा श्रीलंकाविरुद्ध ९० रनको इनिङ्सले उनको ढोका खोल्यो । २०१७ मा राष्ट्रिय टिमबाट डेब्यु गर्दा अवसर संयोगजस्तै आयो तर त्यसलाई उपलब्धिमा बदल्नु उनको मेहनत थियो ।

उतार–चढाव पनि आए । प्रदर्शन ओरालो लाग्दा आलोचना भयो, जिम्मेवारी खोसियो । तर विश्वास कहिल्यै मरेन । २०२२ पछि दीपेन्द्र अझ बलियो भएर फर्किए । शतक, निर्णायक इनिङ्स, फिनिसरको भूमिका– उनले आफूलाई पुनः परिभाषित गरे । आज दीपेन्द्र केवल सुदूरपश्चिमका प्रतिनिधि होइनन्, विश्वमा नेपाल चिनाउने खेलाडी हुन् ।

सम्बन्धित खबर