२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

साम्बा- लमजुङबाट विश्व फुटबलसम्म

shivam cement
२०८२ पुष ५ गते ०६:२५
Shares
साम्बा- लमजुङबाट विश्व फुटबलसम्म

काठमाडौं : लमजुङको मर्स्याङ्दी किनार । खाली खुट्टा, मोजाको बल र खुला आकाश । त्यही परिवेशमा फुटबलसँग पहिलोपटक भेट भएकी हुन्– सावित्रा भण्डारी ‘साम्बा’ । आज संसारका रंगशालामा जब गोलको उत्सव हुन्छ, त्यही उत्सवमा एउटा नेपाली नाम अनिवार्यजस्तै सुनिन्छ– साम्बा ।

बाल्यकालमा गाईगोरु चराउँदै खेलिएको फुटबल उनका लागि खेल मात्र थिएन, त्यो बाँच्ने तरिका थियो । साधारण परिवारमा हुर्किएकी साम्बाले सुविधाको फुटबल होइन, संघर्षको फुटबल खेलेकी हुन् । तर त्यो संघर्ष नै आज उनको पहिचान बन्यो ।

१७ वर्षको उमेरमै राष्ट्रिय टिमको जर्सी लगाएर भुटानविरुद्ध गोल गर्दा उनले आफ्नो आगमन घोषणा गरिन् । त्यसपछि साम्बाको खुट्टा रोकिएन । गोलपछि गोल, कीर्तिमानपछि कीर्तिमान । आज उनी नेपाली महिला फुटबल इतिहासकी सर्वाधिक गोलकर्ता मात्र होइनन्, दक्षिण एसियाकै गोल मेसिनका रूपमा चिनिन्छिन् ।

क्लब फुटबलमा उनले सीमाना चिरेकी छन् । भारतको लिग जित्दै गोल्डेन बुट हात पारिन् । इजरायल र फ्रान्स हुँदै युरोपको मैदानमा गोल गरिन् । युरोपियन शीर्ष लिगमा गोल गर्ने पहिलो नेपाली महिला खेलाडी बनेर इतिहास लेखिन् । अहिले अस्ट्रेलियाको ए–लिगमा खेल्दै उनी विश्व फुटबलसँगै हिँडिरहेकी छन् ।

साम्बा केवल स्ट्राइकर होइनन् । उनी नेपाली महिला फुटबलको आत्मबल हुन् । साफ च्याम्पियनसिपदेखि ओलम्पिक छनोटसम्म, नेपाललाई उचाल्ने क्षणमा उनी अगाडि नै उभिइन् । त्यसैले आज लमजुङको सिमपानीमा ‘साम्बा चोक’ बनेको छ, चोकमा उनको प्रतिमासहितको स्तम्भ निर्माण गरिएको छ ।

साम्बाको कथाले भन्छ– विश्व जित्न रंगशालाको सुरुवात चाहिँदैन । कहिलेकाहीँ खाली खुट्टा र मोजाको बल नै काफी हुन्छ । लमजुङबाट सुरु भएको त्यो दौड आज संसारसम्म पुगेको छ र अझै रोकिएको छैन ।

सम्बन्धित खबर