२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

प्रीति राई- सानो कद, ठुलो खेल

shivam cement
२०८२ पुष ५ गते ०६:३०
Shares
प्रीति राई- सानो कद, ठुलो खेल

काठमाडौं : सोलुखुम्बुको पहाडी भूगोलबाट एउटा केटी फुटबल बोकेर मैदानतिर दौडिन थालिन् । कदले सानो तर सपनाले विशाल– उनी हुन् प्रीति कुलुङ राई । आज नेपाली महिला फुटबलमा उनको नाम केवल प्रतिभाको प्रतीक होइन, सम्भावनाको आवाज पनि हो ।

६ वर्षको कलिलो उमेरमै फुटबलसँग दोस्ती गरेकी प्रीतिले खेललाई कहिल्यै केवल मनोरञ्जन बनाइनन् । शारदा एकेडेमीमा पढ्दै गर्दा स्कुलको मैदान नै उनको पहिलो रंगशाला बन्यो । त्यही मैदानमा उनको खुट्टाले बलसँग कुरा गर्न सिक्यो ।

मिडफिल्डमा उभिँदा प्रीति खेलको गति बदल्छिन् । पासमा स्पष्टता, चालमा चातुर्य र भिजनमा परिपक्वता– त्यही कारण उनलाई धेरैले ‘नेपालकी महिला मेस्सी’ भनेर चिन्ने गरेका छन् । २०१५ मा नेपाल युथ प्रोग्राममा जोडिँदा उनी केटाहरूसँगै अभ्यास गर्ने पहिलो छात्रा खेलाडी बनिन् । त्यहीँबाट उनको आत्मविश्वास झन् बलियो भयो ।

यु–१५, यु–१६ हुँदै यु–१९ राष्ट्रिय टिमसम्म पुग्दा उनले नेतृत्व पनि सिकिन् । २०१७ मा यु–१५ टिमको कप्तानी गर्दा उमेरभन्दा ठुलो जिम्मेवारी सम्हालिन् । क्लब फुटबलमा एपिएफबाट राष्ट्रिय महिला लिग जितिन् र २०२३ मा भारतको किकस्टार्ट एफसी हुँदै विदेशको यात्रा सुरु गरिन् ।

१६ वर्षको उमेरमै सिनियर राष्ट्रिय टिममा डेब्यु– त्यो पनि गोलसहित । २०२१ सेप्टेम्बर ९ मा बंगलादेशविरुद्ध दशरथ रंगशालामा उनले गरेको त्यो गोल केवल स्कोरसिटमा सीमित रहेन, इतिहास बन्यो । प्लेयर अफ द म्याच बनेर उनले आफ्नो आगमन घोषणा गरिन् ।

२०२४ को वाफ महिला च्याम्पियनसिपमा लेबनानविरुद्ध अन्तिम मिनेटमा गरेको गोलले नेपाललाई फाइनलसम्म पु¥यायो । त्यस क्षण उनले देखाइन्– सानो कदले ठुला खेल जित्न रोक्दैन ।

२०२५ बाट जोर्डनको इतिहाद क्लबबाट खेल्दै प्रीति जोर्डन महिला प्रो लिगमा खेल्ने पहिलो नेपाली खेलाडी बनिन् । गाउँबाट सुरु भएको यात्रा आज अन्तर्राष्ट्रिय मैदानमा फैलिएको छ ।

ताजा खबर

सम्बन्धित खबर