२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

गुल्सन झा- सानो उमेर, ठुलो भरोसा

shivam cement
२०८२ पुष ५ गते ०६:३०
Shares
गुल्सन झा- सानो उमेर, ठुलो भरोसा

गुल्सनको नाम जब पहिलोपटक मैदानमा गुन्जियो, धेरैले उनलाई चिनेका थिएनन् । तर उनले चिनेका थिए– आफ्नो जिम्मेवारी । नेपाली क्रिकेटमा एउटा अभाव देखिरहेको थियो– भरपर्दो अलराउन्डरको । किशोर उमेरमै बल र ब्याट दुवै हातमा सम्हालेर मैदानमा उत्रँदा छोटो समयमै त्यो अभाव पूरा गर्ने संकेत दिने नाम बन्यो– गुल्सन झा ।

सर्लाहीको मलंगवाबाट उठेको यो नाम नेपाली क्रिकेटले खोजिरहेकै ‘पूरा’ खेलाडीको संकेत हो । बायाँ हातले ब्याट समात्ने गुल्सन दायाँ हातले तीव्र पेस फ्याँक्छन् । यही असामान्य संयोजनले उनलाई फरक बनाएको छ । बल हातमा हुँदा उनको पेस र बाउन्सर डर पैदा गर्छ, ब्याट हातमा आउँदा भने उनी जितनजिक पुर्‍याउने खेलाडीझैं देखिन्छन् ।

२०७७ सालको मेयर्स कप गुल्सनका लागि मोड बन्यो । पुलिसका लागि फाइनल खेल्दै चार विकेट लिँदा उनी अचानक सबैको नजरमा परे । त्यो दिन शरद भेषावाकरले दिएको उपनाम थियो– ‘सरप्राइज प्याकेज’ । सामाजिक सञ्जालमा उनको पेस र बाउन्सरको चर्चा चल्यो र गुल्सन एकाएक चर्चामा आए ।

तर त्यो सफलता संयोग थिएन । उनले क्रिकेटको आधार भारतको राँचीस्थित अरुणोदय क्रिकेट एकेडेमीमा तयार गरेका थिए । त्यसैले उनको खेलमा आत्मविश्वास देखिन्थ्यो । मधेश प्रदेशबाट प्रधानमन्त्री कप खेलेपछि केही समय अवसर नपाउँदा पनि उनी ओझेलमा हराएनन् । प्रशिक्षक मनोज कटुवालको नजरमा परेपछि पुलिस टिमबाट अवसर पाए र त्यो अवसरलाई उनले गुमाएनन् ।

घरेलु क्रिकेटका जम्मा दुई खेलपछि नै गुल्सन राष्ट्रिय टिमसम्म पुगे । सन् २०२१ मा अमेरिकाविरुद्ध वान डे डेब्यु गर्दा उनको उमेर थियो– १५ वर्ष २१२ दिन । त्यो डेब्युले उनलाई इतिहासमा लेखायो, वान डे क्रिकेटका तेस्रो कान्छा खेलाडीका रूपमा ।

त्यसपछि गुल्सन रोकिएनन् । टी–२० अन्तर्राष्ट्रियमा डेब्यु खेलमै विकेट लिए । पछिल्ला वर्षमा बलिङसँगै ब्याटिङमा पनि निर्णायक योगदान दिन थाले । एकै खेलमा पाँच विकेट र अर्धशतक बनाउने उपलब्धिले उनले ‘साँचो अलराउन्डर’को अर्थ बुझाए ।

एसिया कपमा भारत र पाकिस्तानविरुद्ध खेलेर उनले विश्वस्तरको अनुभव बटुले । टी–२० विश्वकपमा पनि नेपालको जर्सी लगाउँदै उनले देखाए– नेपालको भविष्य केवल सपना होइन, तयारीमा पनि छ ।

ताजा खबर

सम्बन्धित खबर