२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

पूजा महतो- मधेशबाट विश्व क्रिकेटसम्म

shivam cement
२०८२ पुष ५ गते ०६:४०
Shares
पूजा महतो- मधेशबाट विश्व क्रिकेटसम्म

काठमाडौं : मधेश प्रदेशको महोत्तरीमा जन्मिएकी पूजा महतोको जीवन संघर्ष र सपना सधैं प्रेरणादायी रहेको छ । परिवारको आर्थिक अवस्था कमजोर थियो । बुबा रञ्जित महतो तरकारी बेचेर परिवार पाल्थे । यता पूजाको खेलप्रतिको मोह अत्यधिक । सानै उमेरमा दिल्ली पुगेर उनले रोहतक रोड जिम्खाना क्रिकेट एकेडेमीमा प्रशिक्षण लिइन् । शुल्क तिर्न नसक्ने भए पनि प्रशिक्षकले उनको प्रतिभा देखेर छात्रवृत्तिको व्यवस्था गरे । यही अवसरले पूजाको यात्रा परिवर्तन गर्‍यो ।

पूजा दायाँ हातकी ब्याटर र मिडियम पेस बलर हुन् । अलराउन्डरका रूपमा उनी छोटो समयमा नै नेपाली महिला क्रिकेटको चम्किलो नाम बनेकी छन् । सन् २०२३ अगस्ट २२ मा हङकङविरुद्ध १७ वर्षको उमेरमा टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेकी उनले तत्पश्चात् लगातार उत्कृष्ट प्रदर्शन गर्दै नेपाल महिला राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी पाएकी छन् ।

उनको नेतृत्वमा नेपालले यु–१९ महिला विश्वकप छनोटमा सानदार प्रदर्शन गर्‍यो । कुवेतविरुद्धको खेलमा उनले अविजित १ सय ३० रन बनाइन् र ५ विकेट लिएर टोलीलाई जित दिलाइन् । मलेसियाविरुद्धको खेलमा पनि उनले ४ विकेट लिएर प्लेयर अफ द म्याच बनिन् । यी उपलब्धिहरूले उनको कौशल र समर्पणलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्‍यो ।

पूजाको यात्रा केवल खेलमा सीमित छैन । दिल्लीमा सिकेको क्रिकेट र परिवारको अटुट समर्थनले उनलाई मधेशको सानो गाउँदेखि विश्वकपसम्म पुर्‍याएको छ । उनका बुबा र परिवारले गरेको संघर्ष र सन्तोषको साथले उनको सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ ।

आज पूजालाई नेपाली महिला क्रिकेटमा ‘डायमन्ड’को उपनाम दिइएको छ । उनी ब्याटिङ, बलिङ र कप्तानीमा अब्बल छिन् । उनको खेल प्रदर्शन र नेतृत्वले नेपाली महिला क्रिकेटलाई विश्व मञ्चमा चिनाएको छ र भविष्यमा अझ ठुलो सफलताको आशा जगाएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर