२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

खेल संस्कृतिलाई अभियान बनाऔं

shivam cement
२०८२ पुष ६ गते ०६:१५
Shares
खेल संस्कृतिलाई अभियान बनाऔं

नेल्सन मन्डेलाले कुनैबेला भनेझैं खेलकुदसँग संसार बदल्ने शक्ति हुन्छ भन्ने थुप्रै दृष्टान्तले पुष्टि गरेका छन् । यो शक्ति केवल पदक वा जितमा मात्र सीमित हुँदैन । खेलकुदले आममानिसलाई एक ठाउँमा ल्याउँछ र विभाजित समाजलाई एउटै भावनामा बाँध्छ । त्यसैले नेपालजस्तो बहुजातीय, बहुभाषिक र भौगोलिक रूपमा विविध देशका लागि खेलकुद राष्ट्रिय एकताको प्रभावकारी माध्यम बनेको छ । पछिल्ला वर्षमा नेपाल प्रिमियर लिगजस्ता प्रतियोगिताले पनि त्यसलाई पुष्टि गरेको छ । भर्खरै कीर्तिपुर मैदानमा चलेको क्रिकेट उत्सव एनपिएलले झन्डै दुई महिनाअघिको निराशा र अन्योललाई थोरै भए पनि आशामा बदल्न मद्दत पुर्‍याएको अनुभूति धेरैले गरेका छन् । जेनजी आन्दोलन र लगत्तैको विध्वंसले आमरूपमा भय र अनिश्चयको स्थिति सिर्जना गरेको थियो । त्यहीबीचमा भएको एनपिएलले देशबाहिर नेपाल सुरक्षित छ भन्ने सन्देश पुर्‍यायो भने देशभित्र पनि सबै सकिएको छैन भन्ने सकारात्मक सोचको विकास गर्‍यो । खेलमा फरक प्रदेश, फरक पृष्ठभूमिका खेलाडी एउटै टिममा थिए । दर्शक पनि त्यही लयमा समर्थन गरिरहेका थिए । आफ्ना विचार, आस्था र पहिचान बिर्सेर एउटै टिमका लागि ताली बजाउनु सामान्य कुरा होइन । वास्तवमा यही नै खेलकुदको शक्ति हो ।

नेपाली क्रिकेट टिमको संरचना आफैंमा सिंगो देशको तस्बिर हो । जहाँ पहाड, तराईमधेस, र हिमाली भेगका खेलाडीको प्रतिनिधित्व छ । महिला क्रिकेट टिमले पनि त्यस्तै सन्देश दिएको छ । उनीहरूले खेलमार्फत महिला सशक्तीकरण र राष्ट्रिय एकतालाई सँगसँगै अघि बढाएका छन् । अर्को, खेलकुद निष्पक्षताको पाठशाला हो । यहाँ पहुँच वा हैसियतले होइन, क्षमताले स्थान पाइन्छ । हार स्वीकार्न र जितलाई नम्रतासाथ आत्मसात् गर्न खेलकुदले नै सिकाउँछ । आजको पुस्तामा यो संस्कार स्थापित गर्न सके भोलि जिम्मेवार नागरिक बन्न सक्छन् । जिम्मेवार नागरिकले मात्र राष्ट्रलाई एकताबद्ध राख्न सक्छ । 

फुटबल, भलिबल, क्रिकेट र मार्सल आर्टसँगै पछिल्लो समय म्याराथनले खेल संस्कृतिलाई फराकिलो बनाइरहेको छ । दौडमा सबै बराबर हुन्छन् । विद्यार्थी, किसान, महिला, वृद्ध सबै एउटै स्टार्ट लाइनमा उभिन्छन् । यो दृश्य नै राष्ट्रिय एकताको जीवित चित्र हो । खेलकुद स्वास्थ्य, पर्यटन र युवाशक्तिसँग पनि जोडिन्छ । युवा शक्तिलाई खेलमा आकर्षित गर्न सके उनीहरू हिंसा र निराशाबाट टाढा रहन्छन् । राष्ट्रिय एकता र सद्भावको माध्यम बनेको खेलकुदलाई प्राथमिकतामा राख्ने नीति र दीर्घकालीन सोचको खाँचो देखिन्छ । सँगै, विद्यालयदेखि समुदायसम्म खेल संस्कृति फैलाउनुपर्छ । खेलकुदमा लगानी गर्नु खेल प्रतियोगिता नियमित गर्नुु मात्र होइन, बलियो राष्ट्रिय भावनासहित राष्ट्र निर्माण र एकतालाई अभिवृद्धि गर्नु हो । किनभने खेलकुद जित–हारभन्दा माथि उठेर देश जोड्ने शक्ति हो । त्यसैले खेललाई केवल खेल नठानौं । यसलाई साझा अभियान बनाऔं ।

सम्बन्धित खबर