२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

नागरिकको आवाज बुलन्द गर्न राष्ट्रिय मुक्ति पार्टी निरन्तर संघर्षरत : राजेन्द्र महतो

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष ६ गते १८:२३
Shares
नागरिकको आवाज बुलन्द गर्न राष्ट्रिय मुक्ति पार्टी निरन्तर संघर्षरत : राजेन्द्र महतो

रौतहट : राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नागरिकको हक–अधिकार र पहिचानको संरक्षणका लागि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन् । मुलुकको वर्तमान राजनीतिक अवस्था जनअपेक्षाअनुसार अघि बढ्न नसकेको उल्लेख गर्दै उनले आम नागरिकको आवाज बुलन्द गर्न राष्ट्रिय मुक्ति पार्टी निरन्तर संघर्षरत रहने स्पष्ट पारे ।

आइतबार रौतहटको सदरमुकाम गौरमा आयोजित पार्टी प्रवेश तथा नेता-कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष महतोले राष्ट्रिय मुक्ति पार्टी सदैव नागरिकका मौलिक अधिकार, पहिचान र न्यायका पक्षमा दृढतापूर्वक उभिने बताए । उनले परम्परागत राजनीतिक शक्तिले जनताको भरोसा गुमाउँदै गएको अवस्थामा वैकल्पिक शक्तिको उदय अपरिहार्य बनेको धारणा राखे ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटका अध्यक्ष विवेक साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी आएका नेता तथा कार्यकर्ताहरू पार्टीमा प्रवेश गरेका थिए । अध्यक्ष महतोले उनीहरूलाई माला र खादा ओढाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री रामनरेश राय, केन्द्रीय सचिव हुसैन खान, केन्द्रीय सदस्य मनजिर आलम, सर्लाही जिल्ला अध्यक्ष गणेश यादवलगायत नेताहरू विशिष्ट अतिथिका रूपमा सहभागी थिए । उनीहरूले संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि र आगामी राजनीतिक कार्ययोजनाबारे आ-आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले पार्टीको नीति र सिद्धान्तप्रति ऐक्यबद्धता जनाउँदै रौतहटमा संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमको समापन गर्दै जिल्ला अध्यक्ष विवेक साहले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै पार्टीले तल्लो तहसम्म संगठन विस्तार गर्ने लक्ष्यसहित सक्रिय रूपमा अघि बढ्ने जानकारी दिए ।

सम्बन्धित खबर