२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मंसिरमा रोजगारी खोज्दै ६५ हजार बढीले छाडे देश

shivam cement
२०८२ पुष ७ गते ०६:१०
Shares
मंसिरमा रोजगारी खोज्दै ६५ हजार बढीले छाडे देश

काठमाडौं : प्रमुख श्रम गन्तव्य मुलुक युएईको रोजगार सहज नहुँदा वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा गिरावट आउने क्रम जारी छ । वैदेशिक रोजगार विभागका अनुसार गत कात्तिक महिनामा ७३ हजार ९४ जना वैदेशिक रोजगारमा गएकोमा मंसिरमा उक्त संख्या करिब ८ हजारले कमी आई ६५ हजार ७ सय ५ जनामा कायम भएको छ ।

मंसिरमा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारमा जानेको संख्या गत कात्तिकभन्दा करिब ६ हजारले बढेको छ । कात्तिकमा म्यानपावरमार्फत १२ हजार १ सय ४९ जना गएकोमा मंसिरमा उक्त संख्या १८ हजार ३ सय ९८ पुगेको छ ।

वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार जेनजी आन्दोलनपछि प्रमुख रोजगार गन्तव्य युएईमा जाने क्रम बढेको छ । तर प्रहरीले रिपोर्ट प्रमाणित गर्ने क्रममा झन्झट र लागत पनि बढेको छ । 

गत डिसेम्बर ४ सम्म कन्सुलर विभागबाट ५ सय रुपैयाँमा हुने प्रमाणीकरण शुल्क नेपालस्थित युएई दूतावासबाट प्रमाणीकरण गर्न थालिएपछि १४ हजार रुपैयाँ पुगेको छ । प्रक्रियामा ढिलाइ भएकाले कामदार छिटो छरितो रूपमा जान नपाएको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।

अर्को मुख्य गन्तव्य मलेसियामा ठुलो संख्यामा जाने म्यानुफ्याक्चरिङ क्षेत्र नखुलेकाले कामदार जान पाएका छैनन् । युरोपेली मुलुकमा सिजनल भिसा भन्दै व्यक्तिगत रूपमा असुरक्षित तरिकाले पठाउने र शरणार्थी आवेदन गर्न उक्साउने क्रम बढेको बताइएको छ ।

मंसिरमा संस्थागत रूपमा सबैभन्दा बढी साउदी अरेबियामा ६ हजार ४ सय ४ जना, दोस्रोमा रहेको मलेसियामा ३ हजार ४ सय २३ जना, तेस्रोमा रहेकोे कतारमा ३ हजार १ सय ४६ जना, चौथोमा रहेको कुवेतमा २ हजार ३ सय १ जना, पाँचौंमा रहेको ओमानमा ७ सय ६६ जना र प्रायः प्रमुख गन्तव्य रहेको युएई छैटौंमा पुगेको छ । युएईपछि रहेकोे साइप्रसमा ४ सय ८४ जना, बाहराइनमा ४ सय ५५ जना, मरिससमा ३ सय ७९ जना, जोर्डनमा १ सय ९१ जना, जापानमा १ सय ७० जना र बेलायतमा म्यानपावर कम्पनीमार्फत ५ जना कामदार गएका छन् ।

मंसिरमा रिइन्ट्रीका माध्यमबाट ३६ हजार ८७ जना, जीटुजीबाट ८ सय ९७ जना, व्यक्तिगत नयाँ श्रम स्वीकृतिका माध्यमबाट १० हजार २ सय ६६ जना र वैधानिकीकरणका माध्यमबाट ५७ जना गएका छन् । मंसिरमा ७ सय ८५ म्यानपावर कम्पनीले कामदार पठाएका छन् । यस वर्ष साउनदेखि मंसिरसम्म पाँच महिनामा ३ लाख ४१ हजार ४ सय ६७ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् ।

सम्बन्धित खबर