
रियाद, साउदी अरेबिया : साउदी अरेबियामा रहेका नेपालीहरूलाई लक्षित गर्दै रियादस्थित नेपाली दूतावासले हुण्डी जस्ता अवैध वित्तीय कारोबारमा संलग्न व्यक्ति वा संस्थाबारे सूचना दिन आह्वान गरेको छ ।
नेपाल सरकारको ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी राष्ट्रिय नीति कार्यान्वयनको सिलसिलामा दूतावासले अनौपचारिक विप्रेशन (हुण्डी) कारोबार गर्नेहरूको विवरण संकलन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । संकलित सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय तथा सम्बन्धित निकायमा पठाइने दूतावासले स्पष्ट पारेको छ ।
दूतावासले साउदीमा बसोबास गर्ने नेपालीहरूलाई कुनै पनि किसिमको हुण्डी कारोबार नगर्न र नगराउन कडाइका साथ अनुरोध गरेको छ । हुण्डीमार्फत पैसा पठाउँदा देशको अर्थतन्त्रमा नकारात्मक असर पर्नुका साथै सेवाग्राही स्वयंको रकमसमेत जोखिममा पर्ने भएकाले आधिकारिक बैंकिङ च्यानलमार्फत मात्र रेमिट्यान्स पठाउन सचेत गराइएको छ ।
यदि कसैले गैरकानुनी रूपमा हुण्डी कारोबार गरिरहेको फेला पारेमा प्रमाणसहित सूचना उपलब्ध गराउन पनि दूतावासले आग्रह गरेको छ । यस्ता सूचना दूतावासको आधिकारिक इमेल [email protected] मा पठाउन सकिने जनाइएको छ । प्राप्त सूचनालाई गोप्य राखिने दूतावासले जनाएको छ ।
नेपाल सरकारले पछिल्लो समय रेमिट्यान्सलाई कानुनी प्रणालीमा ल्याउन र हुण्डी कारोबार निरुत्साहित गर्न कठोर नीति अपनाइरहेका बेला दूतावासको यो कदमलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
