२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

स्वास्थ्य परीक्षण कार्यमा अवरोध नपुर्‍याउन दुई संघको आग्रह

shivam cement
२०८२ पुष ८ गते ०६:१५
Shares
स्वास्थ्य परीक्षण कार्यमा अवरोध नपुर्‍याउन दुई संघको आग्रह

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल (होडान)ले नेपाल सरकारले तोकेको मूल्यमा स्वास्थ्य परीक्षण गराउन र वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यमा अवरोध नपुर्‍याउन आग्रह गरेका छन् । मेडिकल तथा ओरियन्टेसन समस्या समाधानका लागि गठित समितिका संयोजक सुजितकुमार श्रेष्ठ तथा होडानका महासचिव रघुनाथ पनेरुले सोमबार संयुक्त विज्ञप्ति जारी गरी उक्त आग्रह गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सय पुर्‍याइएकोमा संघ र होडानको विरोधपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कात्तिक ३० गते खारेजी भएको अवस्थामा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले सोही शुल्क लिन खोजेको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

स्वास्थ्य परीक्षण शुल्क घटाउने श्रम मन्त्रालयको निर्णयपछि पनि केही स्वास्थ्य व्यवसायीहरूले बढेको शुल्क लिन पाउनुपर्ने भनी शुल्क वृद्धि खारेजीको विरोध गर्दै स्वास्थ्य संस्थाहरू बन्द गरी सेवाग्राही कामदारहरूलाई दुःख दिने, कृत्रिम अभाव सिर्जना गरेर वैदेशिक रोजगारीको वातावारण बिगार्ने प्रयास गरिरहेको सुन्नमा आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभिन्न बहाना बनाएर साबिकको शुल्कमा स्वास्थ्य परीक्षण गराउने विषयमा मन्त्रालयको विशेष ध्यानाकर्षण गराएको भन्दै दुवै संस्थाले सरकारी निर्णयको उल्लंघन गरी बढी रकम असुल्न खोज्ने स्वास्थ्य संस्थाहरूबाट स्वास्थ्य परीक्षण नगर्न–नगराउन पनि आग्रह गरेका छन् ।

नेपाल सरकारले तोकेको गुणस्तरीय स्वास्थ्य परीक्षण गराउने र कामदारको स्वास्थ्य सुरक्षासँग सम्बन्धित सर्तहरू एकआपसमा पालना गर्दै दुई संघका सदस्य संस्थाहरूबीच गुणस्तरीय स्वास्थ्य परीक्षणलाई ध्यानमा राखी सहकार्य गर्ने सहमति भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

होडानको तर्फबाट साबिककै मूल्यम स्वास्थ्य परीक्षण गर्न एक हप्ताभित्र स्वास्थ्य संस्थाहरूको विवरण संघलाई उपलब्ध गराई सूचीकृत गरी स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्ने विज्ञप्तिमा जनाइएको छ ।

साथै जेनजी आन्दोलनमा शहीद तथा घाइते परिवारको एकाघरका सदस्यलाई वैदेशिक रोजगारीमा जाँदा नेपाल सरकारद्वारा प्रदान गरिएको पत्र र संघसमेतको सिफारिसका आधारमा स्वास्थ्य संस्था सञ्चालक संघ नेपालले घाइतेको हकमा ५० प्रतिशत र शहीद परिवारको हकमा शतप्रतिशत सहुलियत दरमा स्वास्थ्य परीक्षण गर्ने व्यावस्थासमेत मिलाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर