२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

ध्रुवीकरणले जगाएको आशा

shivam cement
२०८२ पुष १० गते ०६:१०
Shares
ध्रुवीकरणले जगाएको आशा

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा दलहरू नयाँ ध्रुवीकरण र चुनावी समीकरणको गृहकार्यमा देखिएका छन् । जनमत आफ्नो पक्षमा पार्न पुराना दल, वैकल्पिक शक्ति दाबी गर्ने र जेनजी विद्रोहपछि गठन भएका दलहरू एकता, सहकार्य र गठबन्धनको तयारी गर्दै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहित एक दर्जन वामघटकको एकतापछि नेपाली कम्युनिस्ट पार्टी बनेको छ । रास्वपा र विवेकशील साझा पार्टी एक ठाउँ आइपुगेका छन् भने त्यसमा काठमाडौं महानगरका मेयर बालेन शाहलाई जोड्न संवाद जारी छ । त्यस्तै, ऊर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टी पनि रास्वपालगायत वैकल्पिक शक्ति ठान्ने दलहरूसँग सहकार्य गर्न खोज्दै छ भने धरान उपमहानगरका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टी संगठन विस्तारमा लागेको छ । राजसंस्था पुनर्स्थापनाका पक्षधर दलहरू राप्रपा र राप्रपा नेपालले बुधबार मात्र पार्टी एकताको सहमति गरेका छन् । यसले नयाँ/पुराना दलहरू चुनावको तयारीमा जुटेको संकेत गरेको छ । यसले २१ फागुनका लागि तोकिएको निर्वाचनको वातावरण बनाउनसमेत मद्दत पुगेको छ । 

लोकतन्त्रमा दलहरू नै जनताका संगठित प्रतिनिधि हुन् । आमनागरिकले आफूले चुनेका दल वा प्रतिनिधिमार्फत शासनसत्ता सञ्चालन गर्छन् । देशको कार्यकारी तहमा पुग्न नागरिकले विश्वास गरेर पठाएका प्रतिनिधि हुनुपर्छ । चुनावमा मतदातालाई भरोसा दिलाएर उनीहरूकै मतबाट सरकारमा पुग्ने विधि नै लोकतान्त्रिक हो । त्यसैका लागि नयाँ÷पुराना दलहरू प्रतिस्पर्धाको तयारीमा छन् । हाम्रो लोकतान्त्रिक अभ्यास लामो भए पनि स्थिर भने छैन । जनताले संघर्ष गरेर लोकतन्त्र ल्याउने र शासकले खोस्ने गर्दैमा आठ दशक बितेको छ । लोकतन्त्र कमजोर हुनुको एउटा कारण दलहरू बलियो नहुनु हो । दल, विचार र नेतृत्वले बहुमतसहितको लोकप्रिय मत प्राप्त गर्न नसक्नु हो । पछिल्लो जेनजी विद्रोहमा पुराना दल र नेतृत्वप्रति युवापुस्ताले देखाएको असन्तुष्टि एवं आक्रोशले पनि त्यही संकेत गर्छ । त्यसैले दलहरूले आफ्ना विचार, दृष्टिकोण र कार्यदिशा मात्र होइन्, नेतृत्वबारे समेत समीक्षा गर्नुपर्नेबेला आएको छ । 

अहिलेको खाँचो आमनागरिकले भरोसा गर्न सक्ने बलिया दलहरूको हो । दलहरूको विभाजन होइन्, एकता र ध्रुवीकरण हो । एउटै दलले प्रस्ट बहुमत ल्याउन नसके पनि ढुक्कले पाँच वर्ष सरकार चलाउन सक्ने गठबन्धन संस्कृतिको हो । सत्तामा पुग्नकै लागि विचारधारा मिल्दै नमिल्ने शक्तिको समीकरण होइन, विचार मिल्ने ध्रुवीकरणको हो । त्यसका लागि अहिले भइरहेका नेकपा, राप्रपा र रास्वपा–विवेकशील साझालगायतका एकता र ध्रुवीकरण सकारात्मक छन् । राजनीतिक अस्थिरता र अन्योलले आमनागरिकमा उत्पन्न निरासा चिर्न पनि निर्णायक राष्ट्रिय शक्तिका रूपमा दलहरू आउनुपर्छ । त्यो महायज्ञ आमचुनाव नै हो, त्यसअघि नै दलहरूले आफूलाई ठिक ध्रुवमा उभ्याउनु राजनीतिक हुन्छ ।

सम्बन्धित खबर