
रुकुम पश्चिम : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ गोपाल शर्मालाई उम्मेदवार सिफारिस गरेको छ ।
पार्टीको सेरिगाउँस्थित कार्यालयमा बिहीबार बसेको बैठकले युवा नेता तथा नेकपाका केन्द्रीय सदस्य शर्मालाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकको अध्यक्षता जिल्ला संयोजक गोविन्द रोकाले गरेका थिए ।
पार्टी नेता सचिन रोकाका अनुसार मुसिकोटमा सम्पन्न बैठकले सर्वसम्मत रूपमा शर्माको नाम सिफारिस गरेको हो । शर्मा पार्टीका प्रभावशाली वक्ताका रूपमा चिनिन्छन् । उनी जनयुद्धकालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन् ।
शर्मा २०७४ सालको प्रदेशसभा निर्वाचनमा रुकुम पश्चिम ‘क’ बाट निर्वाचित भएका थिए । उनले कर्णाली प्रदेश सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै सक्षम र प्रभावशाली मन्त्रीका रूपमा पहिचान बनाएका थिए ।