
काठमाडौं : चलचित्र र गीत–संगीत क्षेत्रका विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड २०८२ काठमाडौंमा सम्पन्न भएको छ । क्वालिटी फिल्मस् प्रालिको आयोजनामा सम्पन्न उक्त अवार्ड समारोहले आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, संगीत र चलचित्रलाई राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यलाई अगाडि सारेको आयोजकले बताएका छन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उद्घाटन गरेको समारोहमा लिम्बू, तामाङ र गुरुङ समुदायका कलाकारहरूले आफ्ना मौलिक लोकगीत, संगीत तथा परम्परागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा आदिवासी कला र संस्कृतिको जीवन्त झल्को देखिएको सहभागीहरूको प्रतिक्रिया थियो ।
समारोहमा अभिनेता धिरेन शाक्य, अग्रज द्वन्द्व निर्देशक राजेन्द्र खड्गी तथा अग्रज लोकगायक कृष्ण गुरुङलाई विशेष सम्मान प्रदान गरियो । यस्तै अभिनेता देवेन्द्र नेम्वाङ, सञ्चारकर्मी अनिल गुरुङ, संगीतकार विशाल योञ्जन, कलाकार तथा व्यवसायी टासी गुरुङ र ह्याङला ह्रिमठिम तामाङ डम्फु संघ नेपाललाई पनि सम्मानित गरिएको थियो ।
अवार्डका निर्णायक मण्डलमा चलचित्र निर्देशक दिनेश लिङ्देन, संगीत संयोजक डिका गुरुङ, संगीतकार आरम्भ तामाङ र राज लिम्बू शुक्र रहेका थिए ।
कार्यक्रमका अध्यक्ष उमेश गुरुङले आदिवासी जनजाति समुदायलाई राज्यले पर्याप्त प्राथमिकता नदिएको अवस्थामा यस्ता अवार्ड र सम्मानले कलाकारलाई हौसला प्रदान गर्ने बताए । समारोहमा स्वागत मन्तव्य दिँदै अवार्ड संयोजक शनि लिम्बूले आदिवासी समुदायको गीत–संगीत र चलचित्रलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित यो अवार्ड निरन्तर आयोजना गर्दै आएको उल्लेख गरिन् ।
अवार्ड वितरणअन्तर्गत आदिवासी चलचित्रतर्फ उत्कृष्ट चलचित्रको अवार्ड लिम्बू चलचित्र ‘नाम ओती’ले प्राप्त ग¥यो भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘टुहुरी’बाट जनक गुरुङले हासिल गरे । सोही विधामा उत्कृष्ट अभिनेताको अवार्ड ‘नाम ओती’बाट पूर्णबहादुर लिम्बू र उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘श्होङ’बाट रुपा एस घलेले प्राप्त गरिन् ।
गुरुङ चलचित्र ‘टुहुरी’बाट कुमार साम्री घलेले चरित्र अभिनेताको अवार्ड, अच्युत गुरुङले चरित्र अभिनेताको जुरी अवार्ड र कमला राई (करु)ले चरित्र अभिनेत्रीको अवार्ड जितिन् । लिम्बू चलचित्रतर्फ ‘चे’बाट तीर्थराज लिम्बू चरित्र अभिनेता र ‘नाम ओती’बाट ज्योति लिम्बू चरित्र अभिनेत्री घोषित भइन् ।
तामाङ सेलोतर्फ उत्कृष्ट गायकको अवार्ड सातै प्रदेशबाट देवलाल मोक्तानले प्राप्त गरे भने जुरी अवार्ड ‘आजको रमाइलो’बाट हरिलाल तामाङले पाए । उत्कृष्ट गायिकाको अवार्ड ‘हुरहुर दौँतरी’बाट ओङमु शेर्पा र जुरी अवार्ड ‘झेवा मैच्याङ’बाट लक्ष्मी घिसिङले प्राप्त गरिन् ।
तामाङ गीत उत्कृष्ट पुरुष मोडलको अवार्ड ‘फनफनी घुम्ने’बाट मंगले तामाङ (मनोज थीङ) र पब्लिक च्वाइस अवार्ड ‘साइला नक्कले’बाट सुजन घलेले हासिल गरे । उत्कृष्ट महिला मोडलको अवार्ड ‘जाडो बढ्यो याङ्गी दोङ’ले तथा जुरी अवार्ड ‘तुम्लिङटार’बाट सपना तामाङले प्राप्त गरिन् ।
म्हेन्दोमाया विधातर्फ उत्कृष्ट गायकको अवार्ड ‘संकेन तोमौ’बाट सुमन घले, उत्कृष्ट गायिकाको अवार्ड ‘हंगामा मच्चाइ’बाट सिता लामाले पाए । यही विधामा ‘मायालाई चिनो’बाट डोल्मा लोप्चनलाई जुरी अवार्ड प्रदान गरियो भने महिला मोडलको अवार्ड ‘तोला तोला’बाट सलिना तामाङले प्राप्त गरिन् ।
मौलिक/गुरुङ गीततर्फ उत्कृष्ट गायिकाको अवार्ड ‘मारै ट झलल’बाट पवित्र गुरुङ, जुरी अवार्ड ‘फूलको थुंगा’बाट दुर्गा गुरुङ र पब्लिक च्वाइस अवार्ड ‘तमु समाज युके’बाट अनिता गुरुङले जितिन् ।
लिम्बू गीततर्फ उत्कृष्ट गायकको अवार्ड ‘पालाम आनिङबा–५’बाट शम्भु फोम्बा, जुरी अवार्ड ‘मिघम्ब’बाट तानाम तान्छो लावती र उत्कृष्ट गायिकाको अवार्ड ‘अम्लेङसा के ओत्ल’बाट हेमुस्मृति चोङ्बाङले प्राप्त गरिन् । भिडियोतर्फ पुरुष मोडलको अवार्ड ‘पालाम फुङहेक्के–२’बाट हर्क घिसिङ, महिला मोडलको अवार्ड ‘सोमिप्पा’बाट सुम्निमा खापुङ लिम्बूले पाए भने ‘चिन्डो मा धान छ’बाट मिना लिम्बू चरित्र अभिनेत्री घोषित भइन् ।
मौलिक गीत गायनतर्फ उत्कृष्ट गायकको अवार्ड ‘तमु समाज युके’बाट आरके गुरुङ, पब्लिक च्वाइस अवार्ड ‘ढोल झ्याम्टो’बाट नन्दु राई, उत्कृष्ट गायिकाको अवार्ड ‘उहिलेको माया’बाट शिला राई र जुरी अवार्ड ‘हौ लुंग’बाट रबिन लेछारले प्राप्त गरे ।
आदिवासी गीततर्फ उत्कृष्ट गायिकाको अवार्ड ‘काफल पाक्दा बनैमा’बाट जुनी खालिङ राई र उत्कृष्ट गायकको अवार्ड ‘लकु फोरी’बाट मिस्टर एलोन सोनाम गुरुङलाई प्रदान गरियो ।
यस्तै आदिवासी म्युजिक भिडियो निर्देशकको अवार्ड ‘जोडी राम्रो’बाट रमेश थापामगर, नृत्य निर्देशकको अवार्ड ‘तमु समाज युके’बाट तेन्याङ (सरु) गुरुङ राना, उत्कृष्ट महिला मोडलको अवार्ड ‘हङकङको चिनो’बाट रिस्ता गुरुङ, महिला मोडल पब्लिक च्वाइस अवार्ड ‘लकु फोरी’बाट देचाङ अंगमा घले र बाल कलाकारको अवार्ड ‘लकु फोरी’बाट तेन्जिङ जस्टिङ गुरुङले प्राप्त गरे ।
आदिवासी उत्कृष्ट गीतकारको अवार्ड ‘तमु समाज युके’बाट सूर्य गुरुङ, उत्कृष्ट संगीतकारको अवार्ड ‘लकु फोरी’बाट मिस्टर एलोन सोनाम गुरुङ, छायांकनको अवार्ड ‘डोको चोयाले’बाट सञ्जय बुढाथोकी मगर र मेकअप आर्टिस्टको अवार्ड ‘आन्छी मिम आफाल्लाङ’बाट सोम मगरांतीले प्राप्त गरे ।
समारोहमा वर्षको सर्वोत्कृष्ट आदिवासी गीतको अवार्ड ‘हङकङको चिनो’ले हात पार्यो भने तमु समाज युकेले पब्लिक च्वाइस अवार्ड प्राप्त ग¥यो । आदिवासी समुदायको मौलिक कला, संगीत र चलचित्रको संरक्षण तथा प्रवद्र्धनमा यो अवार्डले थप ऊर्जा दिएको सहभागीहरूको भनाइ थियो ।