
काठमाडौं : ४२ विभिन्न विधामा अवार्ड प्रदान गर्दै नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड–२०८२ काठमाडौंमा सम्पन्न भएको छ । रापती समाज काठमाडौंको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कला, संगीत र संस्कृतिमा दीर्घ योगदान पुर्याएका स्रष्टा तथा कलाकारहरूलाई सम्मान र अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई विशेष अभिनन्दन गरिएको थियो भने वरिष्ठ लोक गायिका कोमल ओलीलाई दीर्घ साधना सम्मान अर्पण गरियो । आयोजकका अनुसार नेपाली संगीत र सांस्कृतिक पहिचानको संरक्षण, प्रवर्द्धन र नयाँ प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गरिएको हो ।
अवार्ड समारोहमा रापती सांस्कृतिक सम्मान यागेश्वर बस्नेतलाई प्रदान गरियो भने रापती सांस्कृतिक प्रतिभा पुरस्कार अभिनेता आकाश श्रेष्ठले प्राप्त गरे । त्यसैगरी रापती डायस्पोरिक सांस्कृतिक सम्मान गायक बसन्त लम्साललाई, रापती पत्रकारिता पुरस्कार भोजराज थापालाई, रापती बाल प्रतिभा पुरस्कार बाल कलाकार स्वयं केसीलाई र उद्यमशीलता सम्मान–२०८२ दीपक कार्कीलाई प्रदान गरिएको थियो ।
यसैगरी नारायण पाण्डेय लोकदोहोरी प्रतिभा पुरस्कार शान्ता ओली र प्रेमप्रसाद शर्मालाई संयुक्त रूपमा प्रदान गरियो । समाजको सर्वाङ्गीण विकासमा लामो समयदेखि योगदान पुर्याउँदै आएका रापती समाज काठमाडौंका पूर्व अध्यक्ष, समाजसेवी तथा अधिवक्ता शशि शर्मा मजगैयाँलाई रापती सामाजिक सम्मान–२०८२ अर्पण गरिएको थियो ।
अवार्ड समारोहमा गीत, संगीत, चलचित्र र भिडियो विधामा विभिन्न स्रष्टाहरू सम्मानित भए । राष्ट्रिय भावको गीत विधातर्फ ‘हिमाल पहाड तराई’का लागि हेमराज लामिछाने उत्कृष्ट घोषित भए । चलचित्र गीतकारतर्फ ‘रुकुम मैकोटा’का सुरेन्द्र राणा र चलचित्र संगीतकारतर्फ चलचित्र ‘एन्जिला’को गीत ‘रात किन हुन्छ’का लागि थानेश्वर गौतम सम्मानित भए । चलचित्र गायिकामा शान्ति श्री परियार र चलचित्र गायकमा एस.डी. योगी उत्कृष्ट ठहरिए ।

नव प्रतिभा विधामा सर्वोत्कृष्ट नवगायिकाको अवार्ड रेखा पोख्रेलले हात पारिन् भने नवगायकमा सुरज भुसाल चयन भए । सुगम संगीत विधातर्फ गीतकार डा. रमिल अधिकारी, संगीतकार रोशन सिंह, गायिका मेलिना मैनाली र गायक प्रमोद खरेल अवार्डबाट सम्मानित भए । संगीत संयोजनतर्फ एच.बी.एन. किस्मत उत्कृष्ट घोषित भए ।
भिडियो विधातर्फ सर्वोत्कृष्ट निर्देशक रामजी लामिछाने बने । महिला मोडेलतर्फ कविता न्यौपाने र पुरुष मोडेलतर्फ विक्रम बुढाथोकी उत्कृष्ट घोषित भए । लोकसंगीत विधामा मौलिक लोकगीततर्फ मिना लामा, लोकदोहोरी शब्दतर्फ नेत्र अर्याल, लोकदोहोरी भाकातर्फ रमेश परियार, लोकदोहोरी गायिकातर्फ देवी घर्ती र लोकदोहोरी गायकतर्फ प्रकाश दूतराज सम्मानित भए ।
यसैगरी लोकदोहोरी भिडियो मोडेलतर्फ महिला नारायणी खत्री र पुरुष पल शाह तथा लोकदोहोरी भिडियो निर्देशकतर्फ विक्रम चौहान चयन भए । भिडियो सम्पादनतर्फ पदम सुवेदी, छायाङ्कनतर्फ विजय भण्डारी र ध्वनि मिश्रणतर्फ बिमल छिनाल उत्कृष्ट ठहरिए ।
लोकपप विधा अन्तर्गत शब्दतर्फ सुरेश शिवाकोटी, संगीतकारतर्फ बी.पी. वाग्ले, गायिकातर्फ सिम्रन परियार र गायकतर्फ चक्र बमले अवार्ड हात पारे । डायस्पोरा विधातर्फ मञ्जु कोइराला, वर्षको चर्चित गीततर्फ दुर्गेश थापा, देउडा गायिकातर्फ रेखा जोशी र देउडा गायकतर्फ सुनिल नेपाली सम्मानित भए ।
त्यस्तै इनकरेजमेन्ट अवार्ड सन्जु पाठकले प्राप्त गर्दा पब्लिक च्वाइस अवार्ड अंश बर्मालाई प्रदान गरियो । रापती बालप्रतिभा अवार्ड रिदम गन्धर्व, एप्रिसिएसन अवार्ड किस्ना आचार्य र रापती नवप्रतिभा अवार्ड नमराज खड्का तथा ज्यूरी अवार्ड उत्साह घिमिरे, अर्जुन पोख्रेल र मिन गुरुङलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा गायक तथा संगीतकार अर्जुन मिलन, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ संगीतकार दीपक जङ्गम, वरिष्ठ कलाकार निर शाह, वरिष्ठ गायिका चन्द्रकला शाह, अभिनेता पल शाह, गायक प्रमोद खरेललगायत सयौं कलाकार तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । हजारौं संगीत अनुरागीहरूको सहभागिता रहेको कार्यक्रममा दर्जनौँ संघ–संस्थाहरूको सहकार्य रहेको आयोजकले जनाएको छ । आगामी वर्ष झनै व्यापक र प्रभावकारी रूपमा अवार्ड आयोजना गर्ने प्रतिबद्धता पनि आयोजकले व्यक्त गरेको छ ।