
काठमाडौं : नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड कार्यक्रममा संगीतकार मिन गुरुङ सम्मानित भएका छन् । ‘तिमी सँगै’ बोलको गीतमार्फत उनले लोकपप विधामा जुरी अवार्ड प्राप्त गरेका हुन् ।
उक्त गीतमा शब्द र संगीत स्वयं मिन गुरुङको रहेको छ भने गायिका अञ्जु श्रेष्ठ र गायक पदम लोहारले स्वर दिएका छन् । गीतले लोक र आधुनिक संगीतको संयोजनमार्फत स्रोता-दर्शकको मन जित्न सफल भएको जुरीले जनाएको छ ।
नेपाल आइडल सिजन–१ देखि निरन्तर संगीत प्रशिक्षकका रूपमा सक्रिय गुरुङले नेपाली संगीत क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन् । उनका संगीतमा धेरै गायक–गायिकाले गीत रेकर्ड गरिसकेका छन् । स्वदेशमा मात्र होइन, विदेशमा पनि विभिन्न सांगीतिक कार्यक्रममा उनी सहभागी हुँदै आएका छन् ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए । सो अवसरमा विभिन्न ४२ विधामा अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड कार्यक्रममा गायक तथा संगीतकार अर्जुन मिलन, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ कलाकार निर शाह, वरिष्ठ गायिका चन्द्रकला शाह, अभिनेता पल शाह, गायक प्रमोद खरेललगायत सयौं कलाकार तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।