२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न

shivam cement
इसत्याक अहमद
२०८२ पुष १९ गते २१:१२
Shares
राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न

काठमाडौं : राष्ट्र निर्माण दल नेपालको औपचारिक घोषणा सभा काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ । सभाबाट शमिम मियाँ अन्सारी अध्यक्ष, मोहम्मद जाकिर हुसैन महासचिव र गुरुदेव राम सचिवमा चयन भएका छन् ।

महासचिव हुसैनका अनुसार बाँकी पदाधिकारीहरू पछि मनोनयन गरिनेछ । नवगठित दलका अध्यक्ष अन्सारी पूर्व नेकपा (एमाले) नेता तथा पूर्व मुस्लिम आयोग अध्यक्ष हुन् । महासचिव हुसैन पूर्व माओवादी नेता तथा पूर्व मन्त्री हुन् भने सचिव राम मधेशी दलित सञ्जालका अध्यक्ष तथा दलित उत्थानका राष्ट्रिय अभियन्ता हुन् ।

घोषणा सभामा दल दर्ता विक्रम सम्वत् २०८२ मंसिर ३ गते भइसकेको जानकारी दिइएको छ । सो अवसरमा ७५ सदस्यीय केन्द्रीय समिति र ३५ जना समानुपातिक उम्मेदवारको नाम पनि सार्वजनिक गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले नेपालमा नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै शान्ति, विकास र अन्तर्राष्ट्रिय सम्बन्ध दलको प्राथमिकतामा रहने बताए । उनले भारत–नेपालबीचको मैत्रीपूर्ण सम्बन्धले नेपालको समृद्धिमा योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै अब यस सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने धारणा राखे ।

महासचिव मोहम्मद जाकिर हुसैनले दलको राजनीतिक विचार, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सन्तुलित आर्थिक, सामाजिक र राजनीतिक नीति अभावका कारण समुदायहरूबीच दूरी बढ्दै गएको बताए ।

अधिकांश समुदाय राज्यको मूलधारबाट अलग पारिँदा देशले गम्भीर समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले राष्ट्रिय मेलमिलापको वातावरण निर्माण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । सचिव गुरुदेव रामले दलित उत्पीडनको वर्तमान अवस्था, त्यसका संरचनात्मक कारण र दीर्घकालीन समाधानका उपायबारे आफ्नो धारणा राखे ।

कार्यक्रममा संस्थापक उपाध्यक्ष तथा लुम्बिनी इञ्चार्ज खगेन्द्रप्रसाद ढकाल, संस्थापक सचिव नईम राइन, कोशी इञ्चार्ज जफर जमाली, बाग्मती प्रदेश अध्यक्ष सुमन खड्गी, राष्ट्र युवा मञ्च संयोजक मेवालाल यादव, राष्ट्र थारू मञ्च संयोजक दीपेन्द्र थारू तथा महिला नेतृद्वय रोजिना खातुन र किरण कुमारी ठाकुरले पनि दलको औचित्य, उद्देश्य र भावी लक्ष्यबारे मन्तव्य राखेका थिए ।

दलले राष्ट्रिय हितलाई केन्द्रमा राखी आत्मसम्मानपूर्ण र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिक राष्ट्रिय एजेन्डा बनाउने, राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्ने तथा जात, धर्म, भाषा र क्षेत्रगत विविधतालाई सम्मान गर्दै समावेशी राष्ट्रिय एकता सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।

‘सबैको सम्मान, सबैको पहिचान–राष्ट्रिय स्वाधीनता, राष्ट्र निर्माण’ भन्ने नारासहित आत्मनिर्भर अर्थतन्त्र, सुशासन र परिणाममुखी राजनीतिमार्फत स्थायी शान्ति र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ राष्ट्र निर्माण दल नेपाल अघि बढेको नेताहरूले बताएका छन् ।

सम्बन्धित खबर