
काठमाडौं : नेपाली विश्व चर्चित डकुमेन्ट्री फिल्म ‘को–हजबेन्ड’ फ्रान्सको पेरिसमा आयोजना हुने १२औं एथनोग्राफिल्म महोत्सवमा छनोट भएको छ ।
अमेरिकामा रहेको फिल्मको आधिकारिक वितरण संस्था डक्युमेन्ट्री एजुकेसनल रिसोर्सेसले फिल्म छनोट भएको जानकारी दिएको निर्देशक गणेश पाण्डेले जानकारी दिए । अप्रिल २ देखि ५ सम्म पेरिसमा हुने महोत्सवमा सहभागी हुन विशेष निम्तो पनि आएको निर्देशक पाण्डेले जानकारी दिए ।
विश्वभर नेपाली डकुमेन्ट्री सिनेमालाई चिनाउँदै आएको यो फिल्मले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा पुरस्कार र प्रशंसा प्राप्त गरिसकेको छ । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा प्रथम पुरस्कार जितेपछि विश्वका प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुनु नेपाली डकुमेन्ट्री क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ ।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । यसले अन्तर्राष्ट्रिय दर्शक र अनुसन्धानकर्तामाझ नेपाली समाज र संस्कृतिबारे थप बहस र चासो बढाउने अपेक्षा गरिएको छ ।