
रौतहट : जिल्लाको हुलाकी राजमार्ग अन्तर्गत बौधीमाई नगरपालिकामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बौधीमाई नगरपालिका–१ स्थित भुवाली चोकमा बिहान करिब ८ः४५ बजे यात्रुवाहक इभी भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा बौधीमाई नगरपालिका–२ इनर्वाका दीपेन्द्र वैठा रहेका छन् ।
प्रहरीका अनुसार प्रदेश ०३–००१ ज ७६६ नम्बरको लालीगुराँस इभी भ्यान र अन टेस्ट लेखिएको प्लाटिना मोटरसाइकल ठोक्किएका थिए । ठक्करबाट गम्भीर घाइते भएका वैठाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाए ।
घटना लगतै प्रहरी टोली पुगेर मुचुल्का उठाएको छ भने मृतकको शव पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पतालमा राखिएको हो । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।